गृहपृष्ठ रोड सेफ्टी फिल्म फेस्टिभल : दृष्टि उत्कृष्ट फिल्म
रोड सेफ्टी फिल्म फेस्टिभल : दृष्टि उत्कृष्ट फिल्म
रोड सेफ्टी फिल्म फेस्टिभलमा नेपाल फिल्म एकेडेमीद्वारा निर्देशित फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ । त्यसैगरी नेपाल फिल्म एकेडेमीद्वारा नै निर्देशित अर्को फिल्म ‘पछुतो’ दोस्रो र ज्ञानेन्द्र कोइरालाद्वारा निर्देशित ‘सरी बेटा’ फिल्म तेस्रो बनेको छ ।
पहिलो विजेता फिल्मले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगदका साथै सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । सहभागी तथा विजेतालाई नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराई, कर्णबहादुर थापा र विनोद श्रेष्ठले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजना र नासा फाउन्डेसनको व्यवस्थापनमा नेपालमै पहिलोपटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभलमा आयोजना भएको हो । नेपाल टुरिजम बोर्डको हलमा आयोजित फेस्टिभलमा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, बेलायतका पूर्व यातायातमन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम) का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुलश्रेष्ठ, पूर्वमन्त्री कर्णबहादुर थापा, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलगायतको उपस्थिति थियो ।
फेस्टिभलमा १७ वटा फिल्मले सहभागिता जनाएका थिए । दुर्घटना न्यूनीकरण र नागरिक सचेतना अभिवृद्धिका लागि रोड सेफ्टी फिल्म फेस्टिभल गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित समय १८:३६ बजे

















