गृहपृष्ठ भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट
भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

भूकम्पबाट अतिप्रभावित चार जिल्लामा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समयभन्दा एक महिनाअगावै पूरा गरेको छ । प्राधिकरणले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका सात सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएकोमा जेठभित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा उपकरण जडान गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।
ग्रामीण क्षेत्रमा समेत दूरसञ्चार सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार प्राधिकरणले २०७४ वैशाख २१ मा ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी चार जिल्लाका तोकिएका केन्द्रमा इन्टरनेट जडान गर्न टेलिकमलाई जिम्मेवारी दिएको थियो । कम्पनीले सिन्धुपाल्चोकका २१३, काभ्रेका २८९, नुवाकोटका २०५ र रसुवाका ४० स्थानमा इन्टरनेट सञ्चालनमा ल्याएको छ । समग्रमा ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।
सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउनेछन् । सेवा सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ । कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाइम्याक्स सीपीई तथा थ्रीजी÷ईभीडीओ वाइफाई राउटर उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ ।
प्रकाशित समय १८:२० बजे