गृहपृष्ठ विराटनगरमा बन्यो सुविधासम्पन्न बस टर्मिनल, साउनदेखि सञ्चालनमा अाउने

विराटनगरमा बन्यो सुविधासम्पन्न बस टर्मिनल, साउनदेखि सञ्चालनमा अाउने

विराटनगर बस टर्मिनल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक सुविधासम्पन्न अढाइ तले भवनसहितको बस टर्मिनल साउनदेखि सञ्चालनमा आउनेछ । गत आर्थिक वर्षको फागुनदेखि सुरु भएको टर्मिनल कालोपत्रे गर्नमात्र बाँकी छ । नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो ।

वर्षा सुरु भएकाले ‘पिचिङ’ मा केही कठिनाइ भइरहेको निर्माण कम्पनीका प्रोजेक्ट इन्जिनियर आलोक मिश्रले जानकारी दिए । ‘पानी पर्न रोकिएको दुई–तीन दिनमै काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्छौं,’ उनले भने ।

व्यवस्थित र सुविधा सम्पन्न बस टर्मिनल नहुँदा वर्षातमा हिलो र सुक्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयसमेत हर्षित भएका छन् । नेपाल रात्रि तथा दिवा यातायात संघका महासचिव टीका गुरुङले सुविधा सम्पन्न बस टर्मिनलले यात्रु, यातायात व्यवसायी र स्थानीयलाई धेरै सहज हुने बताए । तर, महानगरपालिकाले बस टर्मिनल कसरी सञ्चालनमा ल्याउँछ भन्ने अन्योल रहेको उनको भनाइ छ । ‘सरकारले सिन्डिकेट प्रणाली खारेज गरेको अवस्थामा महानगरपालिका आफैले सञ्चालन गर्ने हो कि वा ठेक्का लगाउने हो भन्नेमा यातायात व्यवसायी अन्योलमा छौं,’ उनले भने, ‘महानगर आफैंले सञ्चालन गरे उत्तम हुने हाम्रो सुझाव छ । ठेक्का लगाएमा पूर्वाधारको संरक्षण हुन सम्भव छैन ।’

व्यवस्थित र सुविधा सम्पन्न बस टर्मिनल नहुँदा वर्षातमा हिलो र सुक्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयसमेत हर्षित भएका छन् ।

निर्माणाधीन बस टर्मिनलमा एकपटकमा साना–ठूला गरी ५४ वटासम्म बस अट्ने विराटनगर महानगरपालिकाले जनाएको छ । बस टर्मिनलमा पुरानो बसपार्कमा जस्तो धेरै समय बस रोक्न नमिल्ने तथा यात्रु ओराल्ने, चढाउने र गन्तव्यतर्फ लागिहाल्नुपर्ने गरी आधुनिक बस टर्मिनल निर्माण गरिएको महानगरपालिकाका प्रोजेक्ट इन्जिनियर अर्जुन थापाले जानकारी दिए । ‘सुविधासम्पन्न बस टर्मिनल सार्वजनिक–निजी साझेदारीको अवधारणामा सञ्चालन गरिनेछ,’ उनले भने ।

बस टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेस्टुरेन्ट, ब्यागेज राख्ने कोठा र सार्वजनिक शौचालय हुनेछन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहनेछन् भने दोस्रो तलामा रेस्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहनेछन् । पूर्वक्षेत्रकै सुविधा सम्पन्न र नमुना दाबी गरिएको बस टर्मिनलको भुइँतलामा प्रवेश र प्रस्थानद्वार राखिएको छ । टर्मिनलमा निश्चित समय बसेपछि बस गन्तव्यतर्फ जान पाउनेछन् । बस टर्मिनल निर्माणअघि सामान्य वर्षामै हिलाम्मे र पानी नपर्दा धुलाम्ये हुने विराटनगर बसपार्कको यतिबेला मुहार नै फेरिएको छ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु