गृहपृष्ठ पर्यटन मन्त्रालयले श्रेष्ठलाई विज्ञ समूहबाट हटायो

पर्यटन मन्त्रालयले श्रेष्ठलाई विज्ञ समूहबाट हटायो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्यन क्षेत्रको विज्ञ समूह (थिङ्क ट्यांक ग्रुप) को सूचीबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ । विज्ञ समूहमा एटीएम र हवाई कानुन विषयमा विज्ञ श्रेष्ठको मनोनयन सम्बन्धमा केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाउँदै विज्ञ सूचीबाट हटाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरको निर्णयअनुसार श्रेष्ठको नाम विज्ञ सूचीबाट हटाइएको जानकारी गराएको छ । नेपालको नागरिक उड्डयनमा विज्ञता हासिल गरेकाहरुको ज्ञान, सीप, दक्षता र अनुभवलाई प्रयोग गर्ने उद्देश्यका लागि मन्त्रालयले चैत २५ गतेको निर्णयबाट विज्ञ समूह गठन गरेको थियो ।

नागरिक उड्डयनका क्षेत्रमा आवश्यक परेका बखत तोकिएका निश्चित क्षेत्रमा सुझाव तथा राय परामर्श दिने प्रमुख जिम्मेवारी रहेको उक्त समूह अवैतनिक तथा अन्य कुनै किसिमको व्ययभार सरकारलाई नपर्ने गरी गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लाउडा कान्डका आरोपितलाई विज्ञ समूहमा नियुक्ति गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना भएको थियो । बहुचर्चित लाउडा विमान भ्रष्टाचार प्रकरण काण्डमा दोषी ठहर गरिएका अभियुक्त हरिभक्त श्रेष्ठलाई तत्कालीन शाही नेपाल वायु सेवा निगमको अध्यक्ष हुँदा बेलायतको लाउडा एयरको विमान भाडामा लिने सम्झौता गरेको आरोप लागेको थियो ।

निगमसँग आफ्नै विमान रहेको र चाइना साउथ वेस्टर्नसँग भाडामा लिने सम्झौता भइसकेको अवस्थामा थप विमान नचाहिने भन्दै तत्कालीन अवस्थामा संसदमै हंगामा भएको थियो । यो काण्डबाट निगमले झन्डै दुई अर्ब नोक्सान बेहोर्यो । २०५७ सालमा निगम र अस्ट्रियाको लाउडा एयरबीच विमान भाडामा लिने सम्झौता गरेका श्रेष्ठमाथि लाउडा विमान भाडा प्रकरणमा अख्तियारले ३८ करोड ९७ लाख ६७ हजार ३१ बिगो र जरिवाना मागदाबी गरेको थियो ।
(रासस)

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु