गृहपृष्ठ लुम्बिनी अञ्चल अस्पतालमा चर्कियो विवाद
लुम्बिनी अञ्चल अस्पतालमा चर्कियो विवाद
सटर भाडाका लागि अध्यक्षबाट टेन्डर आह्वान, मेसुद्वारा स्थगित
लुम्बिनी अञ्चल अस्पतालको सटर भाडामा दिने बोलपत्र आह्वानको विषयलाई लिएर अध्यक्ष रमेश खनाल र मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालबीच विवाद बढेको छ । सावर्जनिक खरिद ऐन २०६३ अनुसार २०७५ जेठ २७ गते अध्यक्ष खनालले समितिबाट निर्णय गराई बोलपत्र आह्वान गरेकोमा सोमबार अस्पतालका मेसुले सूचना जारी गर्दै बोलपत्र अनिश्चतकालका स्थगित गरेका हुन् ।
देश प्रादेशिक संरचनामा गएको भन्दै प्रदेश सरकारले नै बोलपत्रको टुंगो लगाउने उपप्रधान एवं स्वस्थ्य तथा जनसंख्यामन्त्रीको निजी सचिवको निर्देशनसहितको पत्रका आधारमा बोलपत्र स्थगित गरिएको मेसु खनालले बताए । अस्पतालका अध्यक्षले भने पत्रकार सम्मेलन गरी विकास समितिका पदाधिकारीलाई जानकारी नदिई मेसुले एकलौटी रुपमा टेन्डर रोकेको आरोप लगाएका छन् । निजी सचिवको पत्रका आधारमा टेन्डर रोकिने प्रावधान नरहेको उनको दाबी छ ।
बैठकमा एजेन्डाका रुपमा म्याद थपको लबिङ भएको र त्यो प्रयास विफल भएपछि गलत प्रक्रिया अपनाएर रोकिएको अध्यक्ष खनालले उनले बताए । जग्गा र फार्मेसीको बिषयमा समेत ‘नोट अफ डिसेन्ट’ लेखेको भन्दै उनले मेसु अधिकार क्षेत्रभन्दा बाहिर गएको बताए ।
सटरका लागि आइतबारसम्म दुई सय ४५ टेन्डर फर्म खरिद भएको र १२ वटा दर्ता भइसकेको अस्पतालले जनाएको छ । हाल अस्पतालका ६९ वटा सटर छन् । सटरबाट मासिक ६ करोड ५९ लाख ६० हजार नौ सय ६७ रुपैयाँ आम्दानी हुने गरेको थियो ।


प्रकाशित समय १७:३९ बजे

















