गृहपृष्ठ धनगढीमा भ्युटावरसहितको मोडेल टाउन बन्ने
धनगढीमा भ्युटावरसहितको मोडेल टाउन बन्ने

प्रदेश ७ को राजधानी धनगढीमा भ्युटावरसहितको मोडेल टाउन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । करिब सवा अर्ब लगानीमा न्यु आईटी भेन्चरले निर्माण गर्ने मोडेल टाउनका लागि आवश्यक तयारी गर्न एक टोली धनगढी पुगेर फर्किएको छ ।
अबको एक महिनाभित्र स्थानको टुङ्गो लगाउँदै माटो परीक्षण गरेर निर्माण अघि बढाइने न्यु आईटी भेन्चरले जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलगायत गैरआवासीय नेपालीको लगानीमा धनगढीमा अत्याधुनिक सुविधायुक्त भ्यु टावरसहितको मोडेल टाउन निर्माण प्रक्रिया अघि बढ्नेछ ।
सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार निर्माण गरिने मोडेल भवन स्मार्ट सिटी बनाउने कामको एउटा खुट्किलो भएकाले धनगढी उपमहानगरपालिकाले जनाएको छ । न्यु आईटी भेन्चरसहित गैरआवासीय नेपाली, उपमहानगरपालिका र यो क्षेत्रका व्यवसायीलाई सेयर दिएर मोडेल भवन निर्माण गरिने बताइएको छ ।
त्यसका लागि आवश्यक पूर्वतयारी एक महिनाभित्र सम्पन्न गरेर भवन निर्माणको बाटो खोल्ने गरी काम गरिरहेको धनगढी उपमहानगरपालि प्रमुख नृपबहादुर वडले जानकारी दिए । धनगढीमा सवा एक अर्बको लगानीमा झन्डै दुई बिघा क्षेत्रफलमा भवन निर्माण हुनेछ ।
टाउनमा नौ तले र सात तले दुईवटा भवन बनाइनेछ । नौ तले भवनको माथि धनगढी नगर हेर्न सकिने भ्यु टावर बन्नेछ । पहिलो नौ तले भवनमा ब्रान्डेड सोरुम, होटल, फिटनेस सेन्टर र भ्यु टावर हुनेछ भने दोस्रो सात तले भवनमा परम्परागत प्रविधि, विज्ञान ल्याब र सेमिनार हल निर्माण हुनेछ । मोडेल टाउन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
प्रकाशित समय १६:३८ बजे