गृहपृष्ठ पर्यटन विकासका लागि पर्यटन परिपथ
पर्यटन विकासका लागि पर्यटन परिपथ
उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका पुराना पाँच नगरपालिकाले काठमाडौं उपत्यकालाई पर्यटन परिपथ बनाएर जोड्ने भएका छन् । उपत्यकाका नगरपालिकाको पर्यटन विकास र सांस्कृतिक धरोहरको संरक्षणबारे भक्तपुर नगरपालिकामा भएको छलफलमा सहभागी नगर प्रमुख उपत्यकाका नगरपालिकालाई पर्यटन परिपथका रुपमा विकास गरेर लैजान सहमत भएका हुन् ।
ऐतिहासिक धरोहर, सम्पदा र सांस्कृतिक नगरका रुपमा चिनिएका उपत्यकाका नगरपालिकामध्ये काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई पर्यटनसँग जोड्ने सहमति भएसँगै पर्यटन परिपथ निर्माण हुने भएको हो ।
काठमाडौँ तथा ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको अनुपातमा मध्यपुरथिमि नगरपालिका र कीर्तिपुर नगरपालिकामा पर्यटकको आगमन कम हुने गरेको छ । एउटा नगरपालिकामा आउने पर्यटकलाई अरू नगरपालिकामा जाने गरी वातावरण तयार पार्न सके उपत्यकाको पर्यटन विकाससँगै यहाँको सम्पदा र संस्कृतिलाई सधैं जीवन्त राख्न सकिने निष्कर्षमा नगर प्रमुखहरु पुगेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भक्तपुरको सम्पदा संरक्षण र शिक्षा क्षेत्रमा भएको प्रगति देखेर आफूहरु प्रभावित भएको बताए । उपत्यकाका सम्पदा संरक्षणमा मौलिकपन र एकरुपता ल्याएर पर्यटनसँग जोड्ने तथा उपत्यकालाई एकीकृत रुपमा विकास गरेर अगाडि बढाउन सहकार्य गर्ने अभियान सफल बनाउनुपर्ने कामपाका प्रमुख शाक्यले जोड दिए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सम्पदा र पर्यटकीय क्षेत्रको दृष्टिकोणले सबै नगरपालिकाको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व रहेको बताउँदै पर्यटक तान्न समन्वय र थप कार्यक्रम बनाउनुपर्ने विचार राखे । त्यस्तै, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भए पनि पर्यटकको आगमन कम भएको अवस्थामा पर्यटकीय परिपथ बनाउन सके पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।
मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भक्तपुरको सम्पदा संरक्षणको कार्य उपत्यकामा मात्रै नभई नेपालमै नमुनाका रुपमा रहेको बताए । सम्पदालाई पर्यटकसँग जोड्ने काम पनि नमूनाका रुपमा अगाडि बढेको उनले जानकारी दिए । भक्तपुर आएका पर्यटकमध्ये २० प्रतिशतमात्रै मध्यपुर ठिमी लैजान सके पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रमुख श्रेष्ठको भनाइ छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकार स्वायत र आत्मनिर्भर हुनुपर्ने भन्दै स्थानीय सरकारको अधिकार खोसेर पुरातत्व विभागलाई दिन नहुनेमा जोड दिए ।
प्रकाशित समय १६:०२ बजे

















