गृहपृष्ठ फर्निचर तथा फर्निसिङ एक्स्पो असोज ४ देखि

फर्निचर तथा फर्निसिङ एक्स्पो असोज ४ देखि

 

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स असोज ४ गतेदेखि हुने भएको छ । यसअघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भएपछि पर सारिएको हो । एक्स्पोमा सहभागी हुन ९० प्रतिशत स्टल बुकिङ भइसकेको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ ।

अब भौतिक तयारीलार्इ तीव्रता दिइने एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । एक्स्पोको छैटौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने आयोजकले जनाएको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास आयोजकको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होमडेकोर, अफिस फर्निर, होम अप्लाइन्सेस, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ ।

असोज ८ गतेसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादन प्रवर्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु