गृहपृष्ठ मुलुकमा तीन वटामात्रै दूरसञ्चार सेवाप्रदायक रहने !
मुलुकमा तीन वटामात्रै दूरसञ्चार सेवाप्रदायक रहने !
सरकारले दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुलाई मर्जरमा लैजाने तयारी गरेको छ । हाल सञ्चालनमा रहेका कम्पनीहरुलाई मर्ज गरी बढीमा तीन वटामा झार्ने तयारी सरकारले गरेको हो । यसका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदीय समितिमा प्रस्ताव लगेका छन् ।
नेपालमा टेलिफोन सेवाप्रदायक कम्पनीको संख्या बढी भएकाले आगामी दिनमा त्यस्ता कम्पनीहरुलाई मर्जरमा लैजानुपर्ने प्रस्ताव उनले अघि सारेका हुन् । ‘विकसित मुलुकमा त तीनभन्दा बढी टेलिफोन सेवा प्रदायक कम्पनी छैनन्, नेपालमा पनि यति धेरै चाहिँदैन भनेर हामी यो निष्कर्षमा पुगेका हौँ,’ संघीय संसद विकास तथा प्रविधि समितिको बैठकमा उनले भने ।
नेपालमा हाल नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल, युटीएल, हेलो नेपाललगायतका कम्पनी छन् । यी कम्पनीलाई मर्जरमा लगेर बढीमा तीनवटा बनाउने प्रस्ताव सरकारको छ ।
विकास तथा प्रविधि समितिको निर्देशन
संघीय संसद विकास तथा प्रविधि समितिले फेसबुकसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सामाजिक सञ्जालको विज्ञापनबापत् ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन संचार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानुनी व्यवस्थाकालागि संसदमा छिटो विधेयक पेश गर्न पनि सरकारलाई भनेको छ । सूचना र प्रविधिको भरपुर उपयोग हुने गरी कानुनी व्यवस्था गर्न सरकारलाई छिटो विधेयक संसदमा पेश गर्न सचेत गराइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए ।
समितिले फोर जी सेवा, टेलिकमको गुणस्तरलगायतमा देखिएको समस्या समाधानका लागि भइरहेका कामको विवरण १५ दिनभित्र समितिमा पेश गर्न पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोगमा ल्याउने वातावरण बनाउन पनि सरकारलाई सचेत गराइएको समितिका जेष्ठ सदस्य लामाले बताए ।
प्रकाशित समय १८:२२ बजे

















