गृहपृष्ठ सिद्धार्थ ग्याँस उद्योगमा लफडा, संघाईविरुद्ध अग्रवालको पत्रकार सम्मेलन

सिद्धार्थ ग्याँस उद्योगमा लफडा, संघाईविरुद्ध अग्रवालको पत्रकार सम्मेलन

सिद्धार्थ ग्यास उद्योग प्रालिका सेयर धनीबीचको विवाद सतहमा आएको छ । खासगरी रामचन्द्र संघाई र रमेशकुमार अग्रवालबीच विवाद बढेको देखिएको छ । संघईविरुद्ध अग्रवालले बिहीबार पत्रकार सम्मेलन नै गरेका छन् । सिद्धार्थ ग्याँसमा संघाइको ५० प्रतिशत लगानी छ भने अग्रवालको २५ प्रतिशत रहेको छ । तर, आफ्नो २५ प्रतिशत सेयर पनि हडप्ने र सेयर थप गर्न लगाउने रणनीतिमा संघाई देखिएको भन्दै अग्रवालले आफूलाई न्याया दिलाउन माग गरेका छन् । उद्योग स्थापनाका लागि सेयर हाल्ने आफ्नो भूमिका अहिले केही नरहेको भन्दै उनले दुख पोखे । न्यायका लागि सम्बन्धित विभिन्न निकायको ढोका ढकढक्याउँदा पनि कसैले नसुनेको उनको गुनासो छ ।

 

काठमाडौँस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी रमेश अग्रवालले जारी गरेको प्रेस विज्ञप्ति ।
सर्वप्रथम त म सामान्य व्यवसाय गरेर जिविका चलाउँदै आएको कुरा अवगत गराउन चाहान्छु । यसै क्रममा व्यवसायी रामचन्द्र संघाईसँग चिनजान हुन पुग्यो । प्रसंगबस संघाईले हामी मिलेर काम गरौँ भन्ने सल्लाबमोजिम २०६८ सालमा कर्जा लिएर सिद्धार्थ ग्याँस उद्योग प्रालिमा मैले मलगायत मेरो परिवारको सदस्यको नाममा २५ प्रतिशत सेयर खरिद गरेँ । ५० प्रतिशत संघाई समूहको र बाँकी सुवासकुमार खेतानको नाममा २५ प्रतिशत रहेको सिद्धार्थ ग्याँस उद्योग निकै सफल रुपमा सञ्चालन हुँदै आएको छ । सञ्चालक समितिमा अध्यक्ष रामचन्द्र संघाई, सुवासकुमार खेतान र म रमेशप्रसाद अग्रवाल रही कामकार्बाही गर्दै आएका थियौँ । कम्पनीको नाममा अहिले पनि करोडौँ चल÷अचल सम्पत्ती रहेको छ । तर, २०६९ सालबाट संघाई समूहले एकलौटी रुपमा सञ्चालन गर्दै आएको मात्रै छैन, मेरो हरहिसाब देखाउन बारम्बर आग्रह गर्दासमेत उल्टै गलत्याउने प्रयास गरेको छ । संघाई समूहले मनोमानी गर्दै आएको छ । सञ्चालक समितिको बैठकबिना नै अध्यक्ष वीरेन्द्रकुमार संघाईलाई बनाइएको छ भने गैरकानुनी रुपमा बनाएको अध्यक्षको हस्ताक्षरबाट हाल आएर कम्पनीको नाममा थप सेयर हाल्न पत्र काटिएको छ । पहिला हालेको सेयर नै असुरक्षित भइरहेको अवस्थामा थप सेयर हाल्ने आर्थिक अवस्था मसँग छैन । पहिला हालिएको त्यही सेयरको हिसाब चाहियो भनेर अनुनय विनय गर्दा संघाई समूहले त्यतिकै हडप्ने षड्यन्त्रका साथ मलाई पेल्दै आइरहेको छ । म आफ्नो सेयरको हिसाब किताब खोजाइ पाउँ भनेर वाणिज्य तथा आपूर्ति मन्त्रालय,आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनीको रजिष्ट्रारको कार्यालय, एलपी ग्याँस उद्योग एशोसिएसन, आन्तरिक राजस्व विभाग, नेपाल आयाल निगम, केन्द्रीय अनुसन्धान व्यूरोलगायत सम्बन्धित विभिन्न निकायमा पटक–पटक धाएँ । तर, मैले अहिलेसम्म कतैबाट न्याय पाउन सकिनँ । अझ भनौँ, संघाई समूहले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्ने गरेकाले सबै नियक उसका अगाडि निरीह बने । त्यसैले राज्यको चौथो अंग सञ्चार जगतको कदमबाट मात्रै मैले न्याय पाउँछु पूर्ण विश्वासका साथ यहाँहरुसमक्ष विनम्र अनुरोध गर्न आएको छु ।

पीडित रमेशकुमार अग्रवाल
श्रीमती रानी अग्रवाल
छोरी अनुज्ञा अग्रवाल
मिति : २०७५।०५।०७

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु