गृहपृष्ठ महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा पद वहाली

महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा पद वहाली

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार एक पदबहाली गरेका छन् । त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका थिए ।

पद वहालीपश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई सम्बोधनसहित आवश्यक निर्देशनसमेत दिए । महासंघ सचिवालय र महासंघअन्तर्गत रहेका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको पद वहाली कार्यक्रममा अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सोहीअनुसारको अपेक्षा आफूले गरेको बताए ।

पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउँछन तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनल रूपमा सञ्चालन गरी सचिवालयले दिने सेवालाई चुस्त-दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उनले बताए । ‘तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाइहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु,’ उनले भने, ‘महासंघमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमूल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गर्दछु ।’

उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति आफू पूर्ण विश्वस्त रहेको अध्यक्ष गोल्छाले बताए । ‘सचिवालयलाई पूर्ण रुपमा सुदृढीकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोहीअनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा सुविधा लगायतमा पनि ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशका रूपमा सञ्चालन गर्ने म स्पष्ट पार्न चाहन्छु,’ उनले भने ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु