गृहपृष्ठ साताभरमा एक अर्ब आठ करोडको सेयर किनबेच
साताभरमा एक अर्ब आठ करोडको सेयर किनबेच
काठमाडौं– गत साता नेपाल स्टक एक्सचेन्जमा एक अर्ब आठ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक सय ७६ कम्पनीको २३ लाख २९ हजार चार सय ४० कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्बबढीको कारोबार भएको हो । यो कारोबार रकम गत साताको भन्दा ४५.९६ प्रतिशत कम हो । गत साता १ सय ८१ कम्पनीको दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले बढेर बिहीबार १३३९.६५ अंकमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१२ अंकले बढेर २८२.३० अंकमा आइपुगेको छ । गत साता कारोबार रकम (सात करोड एक लाख ८० हजार रुपैयाँ) को आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा छ । कारोबार भएको सेयर संख्या (दुई लाख ११ हजार कित्ता) को आधारमा पनि सिद्धार्थ बैंक अग्रस्थानमा छ । त्यसैगरी, कारोबार संख्या (६५२ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अगाडि छ । गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
प्रकाशित समय १५:३६ बजे

















