गृहपृष्ठ बुटवलमा मेगा बैंकको आफ्नै भवन, सेवासुविधा सहज हुने विश्वास

बुटवलमा मेगा बैंकको आफ्नै भवन, सेवासुविधा सहज हुने विश्वास

मेगा बैंक नेपाल लिमिटेडले रुपन्देहीको बुटवलमा आफ्नै जग्गामा निर्मित भवनको उद्घाटन गरेको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक समारोहका बीच भवनको उद्घाटन गरे ।

बुटवलकै पुष्पलाल पार्कमा सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई पनि मिलनचोकस्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनमा स्थानान्तरण गरिएको छ । यसै अवसरमा बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ ।

मेगा बैंकले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद व्यक्त गरे । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगा बैंकले आफ्नै जमिनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको बताए । मेगा बैंकको पञ्चवर्षीय रणनीतिक कार्ययोजना अनुसार आफ्नै भवन निर्माण कार्यलाई अन्य प्रदेशमा पनि तीव्रता दिइने उनले बताए । यस क्षेत्रका जनताको बैंकिङ पहुँच वृद्धि गर्न प्रदेश सरकारसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै अध्यक्ष शाहले रोजगारमुलक एवं उत्पादनमुलक क्षेत्रमा गरिने लगानीको पनि बढोत्तरी गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यावसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै उनले सहकार्यका लागि आह्वान पनि गरे । सन्तुलित मुनाफा आर्जनलाई ध्यानमा राखेकाले मेगा बैंकको वर्तमान सुदृढ, सबल रहेको तथा भविष्य उज्जवल रहेको अध्यक्ष शाहको भनाइ छ ।

मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरुलाई प्रदान गरिने सेवा, सुविधालगायत कारोबारमा थप सहज हुने भन्दै उनले तत्कालीन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा मेगा बैंकको कारोबार उत्साहजनक भएकोमा अब गण्डकी विकास बैंक गाभिएपछि झन दरिलो उपस्थिति हुने बताइन् ।

मेगा बैंक ‘बैंक अफ दि एयर २०१९’ बाट सम्मानित हुनुमा प्रदेश ५ का ग्राहकवर्ग, कर्मचारी र सरोकारवालाहरुको पनि श्रेय रहेको भन्दै उनले आभार व्यक्त गरिन् । ग्राहकको विश्वास जित्दै अघि बढिरहेकाले मेगा बैंकले बैंकिङ कारोबारसँगै वित्तीय साक्षरता र परोपकारी कार्यलाई पनि प्राथमिकता दिएको सीइओ खुञ्जेलीले बताइन् ।

देशभर सञ्जाल विस्तार गरिरहेको मेगा बैंकका १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्र र ३ हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

प्रकाशित समय १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु