गृहपृष्ठ ‘राजनीतिक चलखेलका कारण गभर्नर नियुक्त हुन सकेन’
‘राजनीतिक चलखेलका कारण गभर्नर नियुक्त हुन सकेन’
नेपाल राष्ट्र बैंकको गभर्नर पार्टीको कार्यकर्ता नभएर नेतृत्वकर्ता हुनुपर्ने अर्थविदहरुले बताएका छन् । ‘नेपालको बैंकिङ क्षेत्रको वर्तमान अवस्था र राष्ट्र बैंकको भावी नेतृत्व’विषयक कार्यक्रममा बोल्दै अर्थविदहरुले अब नियुक्त हुने गभर्नर फरक धारको हुनु पर्नेमा जोड दिए ।
पूर्वअर्थमन्त्री शंकर कोइरालाले २०५८ सालको नियमअनुसार राष्ट्र बैंकको गभर्नर एक महिनाअघि नियुक्त गर्नुपर्ने भए पनि राजनीतिक चलखेलका कारण नियुक्त हुन नसकेको बताए । ‘३ जनाको नाम चर्चामा रहेका कारण समितिको निर्णयभन्दा पनि पार्टीको निर्णयका आधारमा गभर्नर नियुक्त हुन्छ,’ उनले ठोकुवा गरे । हात्तीको देखाउने दाँत र चपाउने दाँतको शैलीका गभर्नर नियुक्त हुने कोइरालाको दावी छ ।
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय समशेर जबराले औपचारिकताका लागि मात्रै गभर्नर सिफरिस समिति बन्ने गरेको दावी गरे । उनले बैकिङ क्षेत्रमा आत्मविश्वास बढ्न नसकेको भन्दै नागरिकको ‘क्यास होल्डिङ’ बढिरहेको र पब्लिक निक्षेप बढाउन नसकिएको बताए । गभर्नरमा मुख्यतया चारवटा गुण आवश्यक रहेको उनले औंल्याए ।
उनले भने, ‘मुद्रा नीति घोषणा गरेर त्यसको माध्यमबाट नेपाली मुद्राको मूल्यलाई ह्रास आउन नदिने तथा मुद्रास्फीति नियन्त्रण गर्दै त्यसलाई कार्यान्वयन गर्न मुद्रा बजारको ज्ञान भएको व्यक्ति अबको गभर्नर हुनुपर्छ ।’ बैंकको जग मजबुत भएकाले पार्टीको सिफारिसमै गभर्नर नियुक्त भए पनि कुनै असर नपर्ने उनको धारणा थियो ।
पूर्वगभर्नर लक्ष्मीप्रसाद निरौलाले राष्ट्र बैंकको गभर्नर ‘चेन अफ कमान्ड’ कायम गर्नसक्ने व्यक्ति हुनु पर्ने बताए । राष्ट्र बैंकमा एकले अर्काको कुरा सुन्ने प्रवृत्ति नरहेकाले चेन अफ कमान्ड आवश्यक रहेको उनको भनाइ छ ।
राष्टिय योजना आयोगका पूर्वसदस्य जनकराज शर्माले पछिल्लो समय नेता र मन्त्रीको आशिर्वाद पाउने व्यक्ति मात्र गभर्नर हुने भएकाले त्यसको असर बैंकमा पर्ने गरेको बताएका छन् । शर्माले बैंकलाई सवल बनाउन नेतृत्वकर्ता स्वयं सक्षम हुनुपर्ने भन्दै गभर्नर पदको नियुक्तिमा स्वस्थ्य तथा पारदर्शिताको आवश्यकता औंल्याए । ‘स्थानीय तहमा बैंकहरुको अवस्था दयनीय रहेका कारण काम गर्न नसक्ने गभर्नरले राजीनामा दिनसक्ने आँट पनि गर्नुपर्छ,’ उनले भने ।
बैंकको शाखा स्थानीय तहमा पुगे पनि निर्णय भने केन्द्रीय स्तरमा लिइने भएका कारण बैंकहरुको गुणस्तर बढ्न नसकेको उनको भनाइ थियो । उनले भने, ‘कुशल गभर्नर नभएका कारण बंैकिङ क्षेत्रमा आत्मविश्वास बढ्न नसकेको हो ।’
सोर्य विकास कोषका पूर्व कार्यकारी निर्देशक विनोद गुरागाईले नेतृत्वकर्ता असल र बैंंकप्रति इमान्दार नभएकाले बैंकहरु अस्वस्थ रहेको बताए । ‘पार्टीको आशिर्वाद पाउने व्यक्ति मात्र बैंकको गभर्नर हुने गरेकाले छनोट समिति लाचार देखिएको छ,’ उनले भने ।
प्रकाशित समय १९:०४ बजे

















