गृहपृष्ठ बैंक अफ काठमाण्डूको नाफा ४२ करोडले घट्यो, खराब कर्जा बढ्यो
बैंक अफ काठमाण्डूको नाफा ४२ करोडले घट्यो, खराब कर्जा बढ्यो
बैंक अफ काठमाण्डूको नाफा ४२ करोडले घटेको छ । बैंकको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४२ करोड रुपैयाँले घटेको हो ।
कोरोनाभाइरसको महामारीको कारण चैत ११ गतेदेखि असार मसान्तसम्ममा ब्याज आम्दानी उठाउन नसक्दा नाफा घटेको देखिएको छ । तेस्रो त्रैमासम्म कम्पनीले उच्च वृद्धि रहेको वित्तीय विवरण प्रस्तुत गरेको थियो ।
आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा एक अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले समीक्षा अवधीमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँमात्र कमाएको छ । खुद नाफा घटेसँगै वितरणयोग्य नाफा पनि ३२.२५ प्रतिशतमा झरेको छ । अघिल्लो आवमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको बैंकको गत वर्ष विवरणअनुसार वितरणयोग्य नाफा ८८ करोड ७ लाख रुपैयाँ छ ।
बैंकको ब्याज आम्दानी १९ प्रतिशतले घटेर ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकमा ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन भएको छ भने ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्षको १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ ।
त्यस्तै प्रतिसेयर आम्दानी घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ । अघिल्लो वर्ष २३ रुपैयाँ ५३ पैसा थियो । बैंकको जगेडा कोषमा चार अर्ब ८० करोड रुपैयाँ सञ्चित छ ।
प्रकाशित समय १२:२० बजे

















