गृहपृष्ठ दिगो आर्थिक विकासका लागि तीन बैंकबीच सहकार्य, साना व्यवसायीलाई सुविधा
दिगो आर्थिक विकासका लागि तीन बैंकबीच सहकार्य, साना व्यवसायीलाई सुविधा
जर्मन सरकारको सहयोगमा सेडरा आईआई (सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एन्ड अर्ब्यान एरियाज) परियोजनाका लागि सिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेपाल राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा परियोजना सञ्चालन हुनेछ । नेपालको तर्फबाट राष्ट्र बैंकमार्फत वाणिज्य बैंकमध्येबाट सिद्धार्थ बैंक र जर्मन सरकारको तर्फबाट केएफडब्लू डेभलपमेन्ट बैंकले कार्यान्वयन गर्ने परियोजनामार्फत ग्रामीण तथा अर्धसहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्शलगायत आवश्यक प्राविधिक सेवा प्रदान गरिनेछ ।
परियोजनाअन्तर्गत लघु, साना तथा मझौला उद्यमीले दुई देखि ४० लाख रुपैयाँसम्मको कर्जा सुविधा पाउनेछन् । कर्जा अवधि १० वर्षसम्मको हुनेछ । परियोजनाले वित्तीय सहयोगका साथै लघु, साना तथा मझौला उद्यमीलाई सीपमूलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग पनि गर्नेछ ।
प्रकाशित समय १२:३६ बजे

















