गृहपृष्ठ कहाँ पुग्यो हिमालयन र इन्भेस्टमेन्ट बैंकको मर्जर प्रक्रिया ?

कहाँ पुग्यो हिमालयन र इन्भेस्टमेन्ट बैंकको मर्जर प्रक्रिया ?

मर्जरका लागि समिति गठन हल्लामात्रै : हिमालयन बैँक

राष्ट्र बैंकको नीतिअनुसार बिग मर्जरमा जान प्रारम्भिक रुपमा सहमत भएका दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकले ड्यु डेजिलेन्स अडिटका लागि समिति गठन गरेका छन् । बैंकहरूले आ-आफ्ना कम्पनीको सम्पत्ति र सेयरको मूल्यांकनसहितको पूर्ण वित्तीय खाका प्रस्तुत गर्न छुट्टाछुट्टै समिति गठन गरेका हुन् ।

मर्जरमा जान प्रारम्भिक रुपमा सहमत भएसँगै दुवै बैँकले समिति गठन गरी ड्यु डेजिलेन्स अडिटको काम अघि बढाएको नेपाल इन्भेस्टमेन्ट बैंकका एक सञ्चालकले जानकारी दिए । विगतमा दुई ठूला कम्पनीहरूको असफल मर्जर प्रयासबाट पाठ सिक्दै यी दुई ठूला बैँक ड्यु डेलिजेन्स  अडिटपछि स्वाप रेसियोमा समेत सहमति बनेपछि मात्रै मर्जरका लागि समिति गठन गरेर अघि बढ्ने भएका छन् । विगतमा एभरेस्ट र लक्ष्मी बैंकको ड्यु डजिलेन्स अडिट भइसकेपछि स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर हुन सकेको थिएन ।

ड्यु डेलिसेन्स अडिटपछि स्वाप रेसियोको टुंगो लागेपछि मात्रै मर्जरका लागि समिति गठन गरिने ती सञ्चालकले जानकारी दिए । उनका अनुसार हालसम्म मर्जरका लागि समिति, उपसमिति केही गठन भएको छैन, मर्जरका लागि समिति गठन दोस्रो चरणमा मात्रै हुन्छ ।

हालसम्म १:१ स्वाप रेसियोअनुसार मर्जरमा जान दुवै बैँक प्रारम्भिक रुपमा सहमत रहेको उनले बताए । सम्पत्तिको अन्तिम मूल्यांकनपछि मात्रै स्वाप रेसियोबारे छलफल अघि बढाएर टुंगो लगाइने सञ्चालकले जानकारी दिए ।

विभिन्न सञ्चारमाध्यममा मनगढन्ते समाचार आएपछि हिमालयन बैँकले विज्ञप्ति नै जारी गरेर हालसम्म मर्जरसम्बन्धी कुनै पनि निर्णय नभसकेको जनाएको छ । बैंकले विभिन्न सञ्चारमाध्यमा आएको विषय साँचो नभएको र सञ्चालक समितिले गठन गरेको उपसमितिले मर्जर/एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थासँग छलफलमात्र चलाइरहेको स्पष्ट पारेको छ ।

राष्ट्र बैंक अन्तिम चरणमा चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’ नीति ल्याउनबाट पछि हटे पनि आन्तरिक रुपमा बैंकहरूलाई मर्जरमा जान प्रेरित गरिरहेको छ । राष्ट्र बैँकको पछिल्लो प्रयासयता हालसम्म ग्लोबल आईएमई बैँक र जनता बैँकमात्र बिग मर्जरमा गएका छन् । अन्य वाणिज्य बैँकले मर्जरमा जान सैद्धान्तिक रुपमा सहमत भए पनि उपयुक्त पार्टनर फेला नपरेको बताइरहेका छन् ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु