गृहपृष्ठ मर्जरपछि ग्लोबल आईएमई बैँकको प्रतिस्पर्धी क्षमता झन् बलियो : चन्द्र ढकाल
मर्जरपछि ग्लोबल आईएमई बैँकको प्रतिस्पर्धी क्षमता झन् बलियो : चन्द्र ढकाल
फाइल तस्बिर
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्लोबल आईएमई बैँकको प्रतिस्पर्धी क्षमता झन् बलियो भएको बताएका छन् । बैँकको १४औं वार्षिकोत्सवका अवसरमा शनिबार शुभकामना बैँकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैँकिङ सेवा प्रदान गर्न थप सहज भएको पनि जानकारी गराए ।
मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैँकसँग लामो अनुभव रहेकाले मर्जरपछिको व्यवस्थापनमा बैँकले हासिल गरेको उपलब्धिले थप उत्साहित बनाएको उनले बताए । ‘विभिन्न बैँक तथा वित्तीय संस्थासँग मर्जर/एक्विजिसनपछि बैँकको पुँजीमा वृद्धि भई प्रतिस्पर्धात्मक क्षमता बढ्नुका साथै वित्तीय, मानव-संशाधन, प्राविधिक एवं अन्य क्षमता पनि बढेको छ,’ कार्यक्रममा उनले भने ।
कोभिड-१९ महामारीमा पनि बैँकहरुले सेवाग्राहीलाई निरन्तर सेवा दिन सकेकाले बैँक तथा वित्तीय संस्थाप्रति आमजनमानसको विश्वास बढेको उनको बुझाइ छ । कोभिड–१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवाले बैँक व्यवसायमात्र नभई आपतविपतको साथी र संकटको सारथि पनि हो भन्ने कुरालाई स्थापित गरेको छ अध्यक्ष ढकालले बताए ।
ग्लोबल आईएमई बैँकले महामारीको समयमा व्यवसायीलाई विभिन्न सहुलियत र छुट दिएर सहयोग गरेको जानकारी गराए । ‘विश्व महामारीको अत्यन्तै जटिल समयमा बैँकहरुले नेपाल राष्ट्र बैँकको निर्देशनबमोजिम निजी क्षेत्रले उठाउँदै आएको कर्जाको किस्ता र ब्याज तिर्ने समयसीमा बढाएर, ब्याजमा छुट दिएर निजी क्षेत्रको संकटको सारथी बनेर काम गरे,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘यसले निजी क्षेत्र एकआपसमा मिलेर संकटको सामना गर्न र भविष्यमा आइपर्ने सम्भावित संकटलाई परास्त गर्न सक्षम छन् भने स्पष्ट पारेको छ ।’
कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले पटक‑पटकका मर्जर र एक्विजिसनपछि ग्लोबल आइएमई बैँक मुलुककै उत्कृष्ट, सबल र मजबुद बैँक बनेको बताए । ‘मर्जरपछि धेरैजसो सूचकमा ग्लोबल आइएमई बैँक देशकै ठूलो र एउटा उत्कृष्ट बैँक बनेको छ,’ उनले भने, ‘सबैका लागि बैँक भन्ने मूल नारालाई साकार पार्ने गरी हामी काम गरिरहेका छौँ ।’
ग्लोबल आइएमई बैँक शनिबारदेखि स्थापनाको १४औं वर्षमा प्रवेश गरेको हो । हाल बैँकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ छ । १४ प्रतिशत बोनस वितरणप्रश्चात बैँकको चुक्तापुँजी २१ अर्बभन्दा हुनेछ । कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ रहेको बैँकले २ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
देशका सातवटै प्रदेशका ७३ जिल्लामा बैँकका २६४ शाखा सञ्जाल छन् । त्यस्तै २४० एटीएम काउन्टर, २४३ शाखारहित बैँकिङ इकाइ, २४ एक्सटेन्सन काउन्टर र २३ वटा राजस्व संकलन काउन्टरबाट पनि पनि सेवा प्रदान गरिरहेको छ । ग्लोबल आईएमई बैँकका तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।
वार्षिकोत्सव कार्यक्रममा बैँकले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, मलेसिया, साउदी अरब, दक्षिण कोरिया, कतार, यूनाइटेड अरब इमिरेट्स, कुवेत, बहराइन, भारतलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको जानकारी दिएको छ ।
प्रकाशित समय ०८:१८ बजे

















