गृहपृष्ठ ग्लोबल आइएमई बैँकको १६ प्रतिशत लाभांश पारित
ग्लोबल आइएमई बैँकको १६ प्रतिशत लाभांश पारित
ग्लोबल आइएमई बैँकको १६ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । बुधबार सम्पन्न बैंकको वार्षिक साधारणसभाबाट सञ्चालक समिति प्रस्ताव गरेको लाभांश प्रस्तावलाई पारित भएको हो ।
सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बोनस सेयर वितरणपश्चात् बैँकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ नाघ्नेछ ।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैँकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैँक स्थापना कालदेखि नै सरकार र राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए । राष्ट्र बैँकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीतिअनुरुप हालसम्म १८ वटा बैँक तथा वित्तीय संस्था ग्लोबल आईएमईमा समाहित भएको उनले जानकारी गराए ।
हालसम्म बैँकले २ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैँकका देशका ७३ जिल्लामा २६४ शाखा सञ्जालसहित करिब ८०० सेवा केन्द्र छन् । नेपालकै ठूलो बैँक ग्लोबल आईएमईमा ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्, जसले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएका छन् ।
प्रकाशित समय ०८:०० बजे

















