गृहपृष्ठ पुँजीबजारमा बैँक तथा वित्तीय संस्थाको हिस्सा ६८ प्रतिशत, पुँजीकरण हिस्सा ७१ प्रतिशत
पुँजीबजारमा बैँक तथा वित्तीय संस्थाको हिस्सा ६८ प्रतिशत, पुँजीकरण हिस्सा ७१ प्रतिशत
नेपालको पुँजीबजारमा बैँक तथा वित्तीय संस्थाको हिस्सा ६८ प्रतिशत छ । मंसिर मसान्तसम्मको तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २१२ संस्थामध्ये बैँक तथा वित्तीय संस्था (बिमा कम्पनीसहित) १४४ वटा रहेको राष्ट्र बैँकले जनाएको छ ।
कुल बजार पुँजीकरणमा भने यी समूहको हिस्सा ७१ प्रतिशत छ । त्यस्तै, नेप्सेमा ३५ जलविद्युत कम्पनी सूचीकृत छन् भने उत्पादन तथा प्रशोधन उद्योग १९ वटा छन् । नेप्सेमा व्यापारिक संस्था र होटल संख्या ४/४ छन् । त्यस्तै अन्य समूहका संस्था ६ वटा छन् ।
पुँजीकरणका हिसाबले जलविद्युत कम्पनीको हिस्सा ६ प्रतिशतमात्र छ । त्यस्तै उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४, होटलको १, व्यापारिक संस्थाको ०.४ र अन्य समूहको १६.७ प्रतिशत छ ।
मंसिर मसान्तसम्ममा नेप्सेमा सूचीकृत ५ अर्ब ६१ लाख कित्ता सेयरको चुक्ता मुल्य भने ४ खर्ब ९१ अर्ब २४ करोडबराबर छ । चालू आवको पाँच महिनामा नेप्सेमा १ खर्ब ५० अर्बबराबरको विकास ऋणपत्र, ११ अर्ब ४१ करोडबराबरको साधारण सेयर ५ अर्ब ८० करोडबराबरको बोनस सेयर, ७ अर्बबराबरको डिबेन्चर, २ अर्ब ५० करोडबराबरको हकप्रद सेयर र ६५ करोडबराबरको म्युचुलअ फन्ड गरी १ खर्ब ७७ अर्बको थप धितोपत्र सूचीकृत भएका छन् ।
यो अवधिमा नेपाल धितोपत्र बोर्डबाट ५ अर्ब ४ करोडबराबरको डिबेन्चर, २ अर्ब २ करोडबराबरको साधारण सेयर ५३ करोड ३७ लाखबराबरको हकप्रद सेयर र ५० करोडबराबरको म्युचुअल फन्ड गरी ८ अर्ब १० करोडबराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ ।
प्रकाशित समय ०९:१६ बजे

















