गृहपृष्ठ मुक्तिनाथ विकास बैँकको नाफामा ३० प्रतिशत वृद्धि
मुक्तिनाथ विकास बैँकको नाफामा ३० प्रतिशत वृद्धि
मुक्तिनाथ विकास बैँकले ३० प्रतिशत खुद नाफा बढाएको छ । बैँकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३०.२८ प्रतिशत बढी हो । समीक्षा अवधिमा गत वर्ष बैँकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिए पनि बैँकको सञ्चालन आम्दानी बढेको छ । बैँकको खुद ब्याज आम्दानी ६ महिनामा ५.८ प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बैँकको सञ्चालन आम्दानी १ करोड ३० लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफासँगै बैँकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्षको पुससम्ममा २१.८५ रुपैयाँ रहेको बैँकको प्रतिसेयर आम्दानी चालू आवको पुससम्ममा २५.५९ रुपैयाँ पुगेको छ ।
पुससम्ममा बैँकको निक्षेप ३०.६४ प्रतिशतले बढेर ७४ अर्ब ८७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २२.२७ प्रतिशतले बढेर ५८ अर्ब २७ करोड ४० लाख रुपैयाँ पुगेको छ । व्यापार बढेसँगै मुक्तिनाथ विकास बैँकको निष्क्रिय कर्जा बढेर ०.३० प्रतिशतमा पुगेको छ । समीक्षा अवधिमा बैँकको आधार दर ११.१८ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.६६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ ।
प्रकाशित समय १४:०९ बजे

















