गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैँकको खुद नाफा सामान्य घट्यो

नेपाल इन्भेस्टमेन्ट बैँकको खुद नाफा सामान्य घट्यो

नेपाल इन्भेस्टमेन्ट बैँकले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा सामान्य घटेको हो ।

चालू आवको पुससम्ममा बैँकले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.७७ प्रतिशत कम हो । समीक्षा अवधिमा बैँकले गत वर्ष १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैँकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफामा कमी आएको हो । ६ महिनामा बैँकले २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.६४ प्रतिशत कम हो । त्यसैगरी बैँकको सञ्चालन नाफा गत वर्षको ६ महिनाको तुलनामा २.०८ प्रतिशतले घटेर २ अर्ब ३३ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।

चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ रहेको नेपाल इन्भेस्टमेन्ट बैँकको सेयरधनी कोषमा ३ अर्ब ११ करोड ६२ लाख र जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।

खुद नाफासँगै बैँकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्षको पुससम्ममा २२.३९ रुपैयाँ रहेको बैँकको प्रतिसेयर आम्दानी चालू आवको सोही अवधिसम्ममा घटेर १९.७१ रुपैयाँमा झरेको छ । समीक्षा अवधिसम्ममा बैँकको प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात २१.७८ गुणा कायम भएको छ । बैँकको बेस रेट ८.५३ प्रतिशतबाट ६.५६ प्रतिशत र स्प्रेड रेट ५.१६ प्रतिशतबाट ४.१४ प्रतिशतमा झरेको छ ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु