गृहपृष्ठ नेपाल बैंकद्वारा ‘कर्पोरेट पे प्रणाली’को सुरूवात
नेपाल बैंकद्वारा ‘कर्पोरेट पे प्रणाली’को सुरूवात
नेपाल बैंक लिमिटेडले कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी उक्त प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
अब बैंकका व्यवसायिक ग्राहकले उक्त डिजिटल प्लेटफर्ममार्फत बैंकमा नगई आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतकाअन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचल आईपीएस मारियल-टाइम वा नन-रियलटाइममा भुक्तानी कारोबार गर्न सकिनेछन् । कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यसपश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेकजाँचपश्चात प्रक्रिया अगाडि बढ्ने व्यवस्था छ ।
यस प्रणालीमा पहुँच पाउन मल्टि-लेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ बैंकले जनाएको छ । बैंकका अनुसार कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहकले आवश्यक्ताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाईनबाटै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।
प्रकाशित समय १६:०७ बजे

















