गृहपृष्ठ एनआइसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ६ करोड

एनआइसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ६ करोड

एनआइसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कारोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमीजस्ता विषम परिस्थितिका बाबजुद पनि दोस्रो त्रैमासमा वार्षिक प्रतिसेयर आम्दानी ३५.७३ रुपैयाँ आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआईसी एसिया बैंकले २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४ करोड ४३ लाख रुपैयाँ अर्थात् २.१९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको स्व-पुँजीमा प्रतिफल २२.६६ प्रतिशत छ । बैंकको यस दोस्रो त्रैमाससम्ममा कर्जातर्फ ५९.३१ अर्ब रुपैयाँले वृद्धि भई कुल कर्जा रकम २३३.०८ अर्ब रुपैयाँ पुगेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३१० अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको २२ प्रतिशतको हिस्सा रहेको छ ।

बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ६७.३० अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २७६.२० अर्ब पुर्‍याउन बैंक सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३०७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १९ प्रतिशत छ ।

यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस दोस्रो त्रयमाससम्ममा ०.४३ प्रतिशतमा झार्न बैंक सफल भएको छ । बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ ।

सोहीअनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणामस्वरूप बैंकका प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.३३ प्रतिशतमात्रै छ । बैंकको कुल कर्जामा ५ करोड रूपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश ८५.९५ प्रतिशत छ ।

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु