गृहपृष्ठ कमल ज्ञवाली : माथि उठे महत्वाकांक्षाले, पाताल भासिए महत्वाकांक्षाले

कमल ज्ञवाली : माथि उठे महत्वाकांक्षाले, पाताल भासिए महत्वाकांक्षाले

१० हजार हुँदाको ठाडो शिर तीन अर्ब हुँदा लुकाउनुपर्यो

एउटा नेपाली गीत छ, ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले हँसायो, कहिले रुवायो’ यो गीतले भनेझैँ जिन्दगीले व्यवसायी कमल ज्ञवालीलाई कुनै समय निकै खुसी दियो । तर, तिनै ज्ञवालीका लागि आफ्नै जिन्दगी बोझ बन्न पुगेको छ । यसको सबैभन्दा ठूलो कारण उनको महत्वाकांक्षा र छोटो बाटोबाट यात्रा गरी छिटो सफलता हात पार्ने प्रयास नै हो । वास्तवमा जिन्दगीले मौका दिएका बेला मानिसले त्यसको दुरुपयोग गर्यो भने उसले दुर्गती निम्त्याउँदैछ भन्ने पाठ पनि कमल ज्ञवालीलाई हेरेर सिक्न सकिन्छ ।

कमल ज्ञवाली, कुनै बेला बैंकिङ क्षेत्रका ‘बादशाह’ भनेर चिनिन्थे । त्यतिबेला उनको परिचय ‘लब्धप्रतिष्ठित व्यवसायी’ ‘सफल उद्यमी’ ‘कुशल बैंकर’ ‘उत्कृष्ट व्यवस्थापक’ आदि बनेको थियो । व्यवस्थापन संकायका विद्यार्थीदेखि बैंकिङ क्षेत्रमा क्रियाशील कतिपय बैंकरले उनलाई आफ्नो आइडल मान्थे । पैसा पनि मनग्यै कमाएका थिए कमल ज्ञवालीले ।

वि.सं. २०५९ सालमा ‘पावर टू सक्सिड’ नाराका साथ ज्ञवालीको नेतृत्वमा किष्ट मर्चेन्ट बैकिङ एन्ड फाइनान्स कम्पनी खोलियो । संस्था फस्टाउँदै गयो र स्थापनाको ७ वर्ष अर्थात २०६६ सालमा ‘क’ वर्गको बैंक बन्यो । त्यतिबेला सबैभन्दा बढी ५१ वटा शाखा भएको बैंक किष्ट नै थियो । त्यतिमात्रै होइन, वाणिज्य बैंकमा ‘टप टेन’ बैंकभित्र किष्टले आफ्नो स्थान बनाउन सफल भयो । यसको जश कमल ज्ञवालीलाई नजाने कुरै थिएन । किनकि, उनकै अवधारणा र नेतृत्वमा स्थापना भएको एउटा संस्था मुलुकको अग्रणी वाणिज्य बैंक बनिसकेको थियो । त्यसैले सञ्चारमाध्यमा किष्ट बैंक र कमल ज्ञवाली छाइरहन्थे ।

कुनै पनि संस्था सफल हुन त्यसका सञ्चालक र व्यवस्थापकको ठूलो हात हुन्छ । किष्ट बैंक पनि सफल संस्थाका रुपमा स्थापित भइसकेको थियो । त्यसको सञ्चालक भएको र मिडियामा छाइरहने भएकाले कमल ज्ञवालीलाई धेरैले आफ्नो आइडल माने । कसैले सफल बैंकरको उदाहरण दिनुपर्यो भने कमल ज्ञवालीको नाम छुटाउँदैन थिए ।

सफलता हात पार्न मान्छेलाई निकै संघर्ष गर्नुपर्छ । तर, त्यही मान्छेलाई पतन हुन फेरि कत्ति पनि समय लाग्दैन । कमल ज्ञवालीले निकै संघर्ष गरे । किष्टलाई वाणिज्य बैंक बनाउन ७ वर्ष लागी परे । संस्था बलियो बनाए, आफू पनि बलियो बने । तर, चरम महत्वाकांक्षाले उनलाई पतन हुन कति पनि समय लागेन ।

सुरुमा नाम कमाए, त्यसपछि गुमनाम भए र बदनाम भएन उनी । हिजो उनलाई आइडल मान्नेहरु अहिले पछुताउँदा हुन् । कसैले बेइमान बैंकरको उदाहरण दिनुपर्यो भने पहिला उनकै नाम उच्चारण गर्छन् ।

ज्ञवालीको बदनामी यात्रा
कमल ज्ञवालीको बदनामी त्यहाँबाट सुरु भयो जब जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुल्यो । उनी सिद्धार्थको सेयरधनी थिए, जतिबेला उनी किष्टको प्रबन्ध सञ्चालक पनि थिए । बैंक भनेको जनताको पैसा जम्मा गर्ने, निश्चित ब्याज दिएर पैसा परिचालन गर्ने संस्था हो । तर, ज्ञवालीको महात्वाकांक्षाले उनलाई अन्धो बनोयो । उनले बैंकलाई ‘दुहूनो गाई’जस्तो बनाए र जनताको पैसा दुरुपयोग गरे ।
ज्ञवालीले आफू प्रबन्ध सञ्चालक हुँदा कम धितोमा जम्को प्रकाशनका नाममा १२ करोड रुपैयाँ कर्जा लिएर अपचलन गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।

२०७३ साल असोज ३ गते पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले ज्ञवाली र उनकी पत्नी गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूर गरेको अभियोगमा बिगो जरिवाना र जेल सजाय सुनायो । अदालतले कमललाई चार वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना र पत्नी गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गर्यो । नाम कमाइसकेका ज्ञवालीले अब गुमनाम यात्रा रोजे । त्यसपछि उनी श्रीमतीसहित फरार भए । तर, कानुनसँग कहिलेसम्म भाग्ने ? उनी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ज्ञवालीलाई कञ्चनपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

के हो ज्ञवालीको पृष्ठभूमि ?
ज्ञवालीले ‘कर्म’ नामको आत्मकथा लेखेका छन् । उक्त पुस्तक तयार गर्दासम्मको जीवन कथाबारे उनले लेखेका छन् ।कमल ज्ञवाली गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका थिए । ०५२ सालमा घरबाट १० हजार रुपैयाँ लिएर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका उनले उनले पढाइसँगै काम पनि गर्न थाले । सुरुमा पढाउँथे । पछि वित्तीय क्षेत्रमा प्रवेश गरे ।

वित्तीय क्षेत्रको यात्रा उनलाई फापेको थियो । उनले ०५९ सालमा ५ करोड रुपैयाँमा किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोले । फाइनान्स कम्पनी हुँदा किष्टले तीन पटक ५, १० र ३ प्रतिशत मात्रै नगद लाभांश दिएको थियो । तर, उनले त्यो फाइनान्सलाई स्तरोन्नति गरी २ अर्ब चुक्ता पुँजी पुर्याउँदै ०६६ साल बैशाख २४ गते वाणिज्य बैंक बनाए । त्यसपछि वित्तीय क्षेत्रमा उनको परिचय फराकिलो बन्यो । १० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँ कमाइसकेका थिए । सबै कमाइको स्रोत सेयर र घरजग्गा नै थियो ।

हकप्रद सेयर दिएर ५ बाट १० करोड, १० बाट २० करोड, २० बाट ६० करोड र ८० करोडबाट एकैपटक २ अर्ब रुपैयाँ पुँजी पुर्याएइएको थियो । हकप्रदको बाढीले किष्टको सेयर मूल्य आकासियो । ज्ञवालीको लोकप्रियता बढ्दै गयो । स्थापनाकालदेखि नै उनी प्रबन्ध सञ्चालक थिए । उनी सञ्चालक समिति र व्यवस्थापन समिति दुबैको कार्यकारी प्रमुख थिए ।

त्यसैले किष्ट सबल हुँदा वा बिग्रँदा दुबैको सबैभन्दा बढी जश वा अपजश ज्ञवालीलाई नै जाने कुरामा दुईमत भएन ।राम्रै पैसा कमाएपछि ज्ञवालीको बोलीचाली नै फेरिएको थियो । ०६६ सालतिर कतिपय सार्वजनिक कार्यक्रममा ज्ञवालीको अभिव्यक्ति सुनिन्थ्यो, ‘नेपालमा अब धनीहरुको सूची पनि निकाल्न थाल्नुपर्छ ।’ १ करोड ६० लाख रुपैयाँको ल्याण्डक्रुजर गाडी चढ्ने उनले त्यतिबेलाका धनी व्यवसायीसँग आफ्नो तुलना गर्थे ।

महत्वाकांक्षा
कमल ज्ञवाली माथि उठे उनकै महत्वाकांक्षाले पाताल भासिए उनकै महत्वाकांक्षाले । वित्तीय क्षेत्रमा सफलता प्राप्त हुँदै जाँदा उनमा दम्भ र महत्वाकांक्षा चुलिँदै गयो । ‘एनी हाउ पैसा कमाउ’ भन्थे उनी । बैंकको शाखा भ्रमण गर्न जाँदा पनि हेलिकप्टर लिएर जान्थे । ‘उहाँ आफूलाई बैंकर नभनेर व्यापारी भन्न रुचाउनुहुन्थ्यो,’ उनीसँगै काम गरेका तत्कालीन किष्ट बैंकका एक कर्मचारी भन्छन्, ‘उहाँ विगतभन्दा दिनप्रतिदिन बदलिनुभएको थियो ।’ उनी आफ्नो कारदेखि कार्यालयसम्म मन लोभ्याउने खालको हुनुपर्छ भन्ने ठान्थे । त्यसैले उनी महंगो कार त चढ्थे नै, बैंकको कार्यालयसमेत निकै आलिसान बनाए । उनकै चाहाना अनुसार अनामनगरको धोबीखोला किनारमा ७ तले अत्याधुनिक भवन अहिलेसम्म बैंक आफैंले बनाएको सबैभन्दा अत्याधुनिक र भवन हो ।

उनको सपना थियो, आफू नेतृत्वको किष्ट बैंकलाई नेपालको नम्बर वान बनाउने । त्यतिमात्रै होइन, किष्ट बैंकलाई कुनै समस्या आयो भने सरकार स्वयं त्यसको समाधानमा जुट्ने गरी बैंकलाई प्रभावकारी बनाउन चाहन्थे उनी । उनी बैंकलाई त्यति ठूलो बनाउन चाहन्थे, जुन बैंक डुब्दा नेपालको वित्तीय क्षेत्र नै बर्बाद हुन्छ भनेर सरकारले जुनसुकै हालतमा बैंकलाई बचाउनतिर लागोस् । तर, उनको सपना पूरा नहुँदै उनकै महत्वाकांक्षाले उनलाई बर्बाद परिदियो ।

०६३/०६४ सालतिर काठमाडौंमा घरजग्गाको भाउ उच्च भएका बेला ज्ञवाली घरजग्गाको साझेदारीमा प्लटिङमा लागेका थिए । बैंकहरुले पनि घरजग्गाको प्लटिङमा ठूलो लगानी गरेका थिए । किष्ट बैंक त घरजग्गामा लगानी गर्ने बैंकमा अग्रपंक्तिमै पथ्र्यो । देशभरका ५१ शाखाबाट जम्मा गरेको रकम काठमाडौंका घरजग्गामा लगानी गरियो ।

सन् २००८ को विश्व आर्थिक मन्दी पनि घरजग्गाकै कारण आएको थियो । त्यसबाट पाठ सिकेर तत्कालीन गभर्नर विजयनाथ भट्टराईले २ पुस ०६६ मा रियलस्टेमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरुलाई परिपत्र गरे । राष्ट्र बैंकको परिपत्रपछि घरजग्गा करोबारमा मन्दी सुरु भयो । ५० करोड रुपैयाँभन्दा बढी लगानी गरेका ज्ञवाली तनावमा परे । ०६७ सालतिरको बजार मूल्यअनुसार उनीसँग २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर थियो । किष्ट बैंकमा मात्र उनले आफ्नो र अरुको नाममा किनेको गरी ४० लाख कित्ताभन्दा बढी सेयर थियो । सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतमा पनि उनको सेयर थियो ।

०६५ भदौ/असोजतिर किष्टको एक कित्ता सेयरको मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो । तर, त्यही वर्षको दशैंपछि सेयर बजार घट्न थाल्यो । ०६६ को दशैंमा बैंकबाट सर्वसाधारणले नयाँ नोट नपाएपछि दशैंमा बजारमा प्रवाह भएका नोटहरु फेरि प्रणालीमा फर्किएनन् । र, बैंकिङ प्रणालीमा तरलताको संकट चुलियो ।

यता, ०६६ पछि घरजग्गाको कारोबार ठप्प जस्तै बन्यो । सेयर गिरावट लगातार थियो । ज्ञवाली ‘पर्ख र हेर’ गर्दै बसे । घरजग्गा र सेयर गिरावटमा सुधार आउने अपेक्षामा उनले ऋणमाथि ऋण थपे । पैसा कमाउने लोभले उनलाई दलदलमा फसाइदिएको थियो ।

अब उनी चोरबाटोबाट हिँड्ने निर्णयमा पुगे । ०६७ असारमा श्रीमती गौरीसमेत आवद्ध रहेको जम्को प्रकाशनलाई किष्टबाट साढे १५ करोड रुपैयाँ ऋण दिए । ऋण लिने व्यक्ति थिए जम्कोका सञ्चालक किशोर ढकाल । तर, त्यो ऋणको आधाभन्दा बढी रकम ज्ञवालीले नै चलाए ।

ज्ञवाली निकै ठूलो दलदलमा फँसिसकेकाले उनलाई यतिले पुग्नेवाला थिएन । त्यसपछि ०६७ साल भदौमा फेरि किशोर ढकालकै नाममा ज्ञवालीले १३ करोड रुपैयाँ ऋण लिए । सिद्धार्थका तत्कालीन अध्यक्ष शेखर अर्याल उनका अति निकट साथी थिए भने सीइओ दिपेन्द्र कार्की ज्ञवालीलाई आदर्श व्यक्ति मान्थे । त्यहाँबाट लिएको ऋण घरजग्गामा खाएको घाटा पूर्ति गर्न ज्ञवालीले खर्च गरे पनि घरजग्गाको व्यवसाय झन् खस्कँदै गयो ।

यता, ज्ञवालीको चोरबाटो पत्ता लाग्ने पहिलो कारण बन्यो किष्टले प्रवार गरेका ऋणमा समस्या । उनको सिफारिसमा प्रवाह गरेका ऋणहरुमा समस्या देखिएपछि सञ्चालक समितिले उनलाई ६ महिनामा ऋण असुल गर्न समय दियो । तर, त्यही बेला कुल कर्जामा खराब कर्जाको मात्रा ५ प्रतिशत नाघ्यो । अब उनले ऋण होइन पैसा बाँडेको पुष्टि भयो ।

त्यसपछि सञ्चालक समितिले डेपुटी सीईओ बीएन घर्तीको संयोजकत्वमा सिधै सञ्चालक समितिलाई रिपोर्टिङ गर्ने कर्जा असुल समिति बनायो । अब घर्ती ऋण असुल्न ग्राहकसम्म पुग्न थाले । अब ज्ञवालीको चोरबाटो घर्तीले पनि थाहा पाए । त्यो ऋण चलाउने त स्वयं ज्ञवाली पनि रहेछन् ।

अर्कोतिर, सिद्धार्थका अध्यक्ष र सीईओसँग पनि ज्ञवालीको सम्बन्ध बिग्रियो । अब उनीहरुबीच पानी बाराबारको स्थितिमात्र बनेन, दुबै एक अर्कालाई बर्बाद गर्नतिर लागे । अन्ततः दुबै बर्बाद बने ।
सिद्धार्थबाट लिएको ऋणको साँवा ब्याज तिर्न नसकिरहेका ज्ञवालीका बारेमा राष्ट्र बैंकमा उजुरी पर्यो । राष्ट्र बैंकले ०६९ मा उनीमाथि छानबिन थाल्यो । छानबिनका क्रममा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दिइयो । त्यसपछि किष्टले जम्कोबाट तत्कालै साढे ३ करोड रुपैयाँ उठायो ।
केन्द्रीय बैंकले यही प्रकरणमा ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो भने ऋणी ढकाललाई बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गर्यो । सीआईबीको अनुसन्धानमा ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलासा भएपछि ०७० जेठ २२ मा ज्ञवाली पत्नी गौरीलाई महाराजगञ्जस्थित निवासबाटै प्रहरीले पक्राउ गर्यो । कमल भने फरार भइसकेका थिए । गौरीलाई केही समयमा धरौटीमा छाडियो ।

बैंकको पैसा दुरुपयोग गरेकाले यो मुद्दा यति सजिलै सल्टिनेवाला थिएन । किष्ट बैंकको घोटाला बाहिरिएपछि निक्षेपकर्ताहरु निक्षेप फिर्ता लिन लाइन बस्न थाले । त्यसपछि ज्ञवालीले पदबाट राजीनामा दिए । तर, यति गरे पनि किष्टलाई निक्षेपकर्ताले पत्याउन छाडे । निक्षेपकर्ता बैंकको मुटु हुन् । अब निक्षेपकर्ताले नै विश्वास गर्न छाडेपछि बैंक डुब्ने अवस्थामा पुग्यो । त्यसपछि ३० भदौ २०७१ मा प्रभु ग्रुपले किष्टलाई प्रभु विकास बैंकमा भागेर प्रभु बैंक बनायो ।

प्रभु समूहले ज्ञवालीले बैंकमा तिर्नुपर्ने ऋण उनको सेयर बेचेर २३ करोड रुपैयाँ असुलिसकेको छ ।
यसरी ज्ञवालीले वर्षौं लगाएर कमाएको इज्जत क्षणभरमै खरानी बन्यो । बदनाम भए कमल ज्ञवाली । १० हजार बोकेर काठमाडौँका सडकमा उभिँदा उनमा स्वाभिमान थियो, आफूप्रति गर्व थियो । तर, अब अर्बपति भएर पनि उनी सार्वजनिक स्थलमा उभिन लायक रहेनन् र भाग्न बाध्य बने । भागेर पनि कहाँ जाने ? अब उनलाई कसैले पत्याउनेवाला थिएनन् । अन्ततः उनी कञ्चनपुरबाट पक्राउ परेका छन् ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु