गृहपृष्ठ ‘वित्तीय क्षेत्रका लागि सामाजिक सुरक्षा कोष चुनौतीपूर्ण’

‘वित्तीय क्षेत्रका लागि सामाजिक सुरक्षा कोष चुनौतीपूर्ण’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले हालै लागू भएको सामाजिक सुरक्षा योजनाले वित्तीय क्षेत्रलाई धक्का लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले हालै सुरु भएको सामाजिक सुरक्षा कोषको उचित व्यवस्थापन हुन नसके त्यसले वित्तीय क्षेत्रमा गम्भीर असर पुर्याउने चेतावनी पनि दिए । ‘यो राष्ट्रको वित्तीय व्यवस्थापनको सबैभन्दा ठूलो कोष बन्दै छ,’ उनले न्युज कारोबारसँग भने, ‘तर चुनौतीको आकार पनि ठूलै छ ।’

अहिले नै सामाजिक सुरक्षा कोष र राष्ट्रिय कल्याणकारी कोषमा ५० अर्ब रुपैयाँ जम्मा छ । थापाले भने, ‘सुरक्षा कोषमा मासिक अर्बौ रुपैयाँ जम्मा हुँदैछ । अब बैंकमा राखेको केही पैसा त्यहाँ जाने भयो । कोषले त्यो ठूलो पैसा पार्किङ गर्नुपर्ने हुन्छ । त्यसका लागि वाणिज्य बैंकमा आउँछ । अब उसले बैंकसँग व्याजको बार्गेनिङ गर्न थाल्छ । यसले त तहल्का पिट्छ । ठूला परियोजनामा रकम खर्च हुन सकेन भने त्यो पैसा मुद्रा बजारमा पोखिन्छ । दिर्घकालीन योजनामा लगाउनुपर्ने पैसा अल्पकालीन मुद्रा बजारमा पोखिँदा त्यसले ठूलो समस्या निम्त्याउन सक्छ ।’

यसबारे सरकारले नेपाल राष्ट्र बैंकसँग छलफल गरेकोबारे आफूलाई केही थाहा नभएको उनले बताए । छलफल र समन्वयकै अभावमा केही कमजोरी हुन गएको उनको आशय छ । भविष्यमा आइपर्न सक्ने जोखिम न्यूनिकरणका लागि सरकारले थप अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु