गृहपृष्ठ देशको अर्थतन्त्रभन्दा बैंकको निक्षेप बढी

देशको अर्थतन्त्रभन्दा बैंकको निक्षेप बढी

अझै ४९ स्थानीय तहमा पुगेनन बैंक

Banking_NewsKarobar

देशको कुल अर्थतन्त्रभन्दा बैंक तथा वित्तीय संस्थाले जम्मा गरेको निक्षेप बढी हुन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालका बैंक तथा वित्तीय संस्थाहरूले गत पुस मसान्तसम्म कुल ३० खर्ब ६६ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्, यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १०२ प्रतिशत हो । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन ३० खर्ब ७ अर्ब रुपैयाँबराबर रहेको छ ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कारोबार विस्तार गर्नमा आक्रामक बजार रणनीति अपनाएसँगै बैंकिङ प्रणालीमा निक्षेप बढेको हो । गत असारदेखि यतामात्रै बैंकहरूको निक्षेप २ खर्ब ३७ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपको ४७ प्रतिशत मुद्दती खातामा पैसा जम्मा छ भने ३२ प्रतिशत बचत खातामा छ । मुद्दती खातामा निश्चित अवधिका लागि तोकिएको ब्याजदर दिएर पैसा राखिन्छ, जुन अवधि पूरा नभइ झिक्न मिल्दैन ।
बैंकमा तरलताको अभाव बढेसँगै बैंकहरूले १० देखि १२ प्रतिशतसम्मको ब्याजदर दिएर मुद्दती खातामा धमाधम निक्षेप तान्न थालेसँगै यस्तो खातामा पैसा बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तभित्र देशभरिमा २ करोड ५६ लाख ५८ हजार बैंक खाता खुलेका छन् । यो जनसंख्याको ८८ प्रतिशतभन्दा बढी हो, यद्यपि एकै व्यक्तिका धेरै वटा बैंकहरूमा खाता रहने गरेका कारण वास्तविक बैंकिङ पहुँच भने योभन्दा निकै कम छ । विशेषतः ग्रामीण क्षेत्रमा बैंक खाता खोल्ने क्रम निकै कम छ ।
सोही कारण काठमाडौंमा एउटा बैंकको शाखाले जम्मा ३०५२ जना र कास्कीमा एउटा बैंकको शाखाले केबल २५ सय जनालाई सेवा दिनुपर्दा अछाममा एउटा शाखाबाट १७ हजारले, बैतडी, दैलेखलगायतका जिल्लामा कम्तिमा १५ देखि १६ हजारले बैंक सुविधा पाएका छन् । तराई क्षेत्रकै जिल्लाहरूमा पनि एउटा बैंकको शाखाबाट कम्तिमा १० देखि १२ हजारले सेवा लिइरहनु परेको अवस्था छ ।
अझै ४९ स्थानीय तहमा पुगेन बैंक
सरकारले जतिसुकै जोडबल लगाए पनि अझै देशका ५० स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन । राष्ट्र बैंकको विवरणअनुसार अझै पनि कर्णालीका १६, सुदूरपश्चिमका १०, प्रदेश नं १ का ९, प्रदेश नं ३ का ६, प्रदेश नं २ र गण्डकीका ३–३ तथा प्रदेश नं ५का २ स्थानीय तहमा बैंक नपुगेको हो ।

प्रकाशित समय १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु