गृहपृष्ठ नेपाल र जापानबीच श्रम सम्झौता, नेपाली कामदार जापान जाने बाटो खुल्यो
नेपाल र जापानबीच श्रम सम्झौता, नेपाली कामदार जापान जाने बाटो खुल्यो
जापानले नेपाली कामदार लैजानेबारे एमओसीमा आज दुई मुलुकबीच सम्झौता भएको छ । नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सोमबार हस्तक्षर भएको हो ।
समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा काठमाडौंको हिमालयन होटलमा एमओसीमा हस्ताक्षर भएको हो ।
जापानले अब ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजानेछ । आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने जापानको निर्णयअनुसार यो सम्झौता भएको हो । अब दुई देशका सरकारको समन्वयमा कामदार भर्ना पक्रिया थालिनेछ । कामदार सरकारी संयन्त्रबाटै पठाइने भएपछि अब म्यानपावर कम्पनीको आवश्यकता पनि पर्दैन ।
तेस्रो पक्षको संलग्नता हुँदा कामदार ठगिने सम्भावना भएकाले यो प्रावधान राखिएको श्रम मन्त्रालयले जनाएको छ । अब श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत एक शाखा स्थापना गर्नेछ । सोही शाखाले जापानी मागअनुसार कामदार पठाउन सहजीकरण गर्नेछ । यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने व्यवस्था मिलाइएको छ ।
जापानले ५ वर्षभित्र तीन लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने नीति बनाएको छ । जापानी भाषा परीक्षा (जेएलपीटी) को चौथो तह उत्तीर्ण गर्ने व्यक्ति जापान जान योग्य हुनेछ ।
प्रकाशित समय १३:४२ बजे

















