गृहपृष्ठ आठ महिनाको व्यापार घाटा ९ खर्ब
आठ महिनाको व्यापार घाटा ९ खर्ब
चीनबाट वस्तु आयात ३७.८ प्रतिशतले बढ्दा निर्यात २७.६ प्रतिशतले घट्यो
आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा मुलुकले करिब ९ खर्बको व्यापार घाटा व्यहोरेको छ । उत्पादन बढाउन नसक्दा मुलुकमा आठ महिनामै ९ खर्ब ४९ अर्बको वस्तु आयात भएको छ । यो अवधि निर्यातको हिस्सा भने करिब ६१ अर्बमात्र छ । अर्थात् आठ महिनामा मुलुकले ८ खर्ब ८७ अर्ब ८८ करोडबराबरको व्यापार घाटा व्यहोरेको छ, यो घाटा गत वर्षको तुलनामा २४.५ प्रतिशत बढी हो ।
चालू आर्थिक वर्षको फागुनसम्ममा वस्तु आयात २३.८ प्रतिशतले बढेर ९४९ अर्ब ११ करोड पुगेको हो । गत वर्षको सोही अवधिमा वस्तु आयात अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट वस्तु आयात २२ प्रतिशत, चीनबाट ३७.८ प्रतिशत र अन्य मुलुकबाट २०.८ प्रतिशतले बढेको छ ।
वस्तु निर्यात भने गत वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढेको छ । चालू आवको आठ महिनामा वस्तु निर्यात १४.६ प्रतिशतले बढेर ६१ अर्ब २२ करोड पुगेको हो । गत वर्षको सोही अवधिमा वस्तु निर्यात १०.८ प्रतिशतले बढेको थियो । यो अविधमा भारततर्फ निर्यात २६.३ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फ १.३ प्रतिशतले बढेको छ । चीनतर्फको निर्यातमा भने भारी गिरावट आएको छ । चीनबाट ३७.८ प्रतिशतले आयात बढ्दा निर्यात भने गत वर्षको समीक्षा अवधिको तुलनामा २७.६ प्रतिशतले घटेको हो ।
पोलिस्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाललगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोसाक, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।
पेट्रोलियम पदार्थ, तयारी पोसाक, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामग्रीलगायतका वस्तुको आयात बढेको छ । सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजारलगायतका वस्तुको आयात भने घटेको छ ।
प्रकाशित समय १२:१२ बजे

















