गृहपृष्ठ कर्णालीमा ७० करोडकाे सिंचाई आयोजना सुरू

कर्णालीमा ७० करोडकाे सिंचाई आयोजना सुरू

कर्णाली प्रदेश सरकारले ७० करोड बराबरको सिंचाई आयोजना निर्माण थालेको छ । प्रदेशले चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा जम्मा ५ सय ८३ आयोजना निर्माण थालेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सरकारले सशर्त अनुदानबाट ३ सय ५० वटा र प्रदेशका २ सय ३३ वटा गरि जम्मा ५ सय ८३ वटा आयोजना निर्माण थालेको हो ।

सिंचाई आयोजना निर्माणका लागि आर्थीक वर्ष ०७५÷०७६ मा ७० करोड ८१ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको हो । अनुदान तर्फको ३० करोड ८१ लाख ९७ हजार र प्रदेशको ४० करोड बजेट कर्णालीका १० जिल्लाका सिंचाई आयोजनाका लागी बिनियोजन भएको छ । ०७५ असारमा विनियोजन गरिएको बजेट दोस्रो चौमासिक सकिएपछि मात्रै कार्यान्वयनमा आएको छ ।

सशर्त अनुदान तर्फको बजेटमा मझौला सिंचाई आयोजना १ सय ३२ वटा रहेका छन् । जसको कुल बजेट ११ करोड १६ लाख ७२ हजार रहेको छ । त्यस्तै नयाँ प्रविधिमा आधारित सिंचाई आयोजनाको कुल बजेट ४ करोड ५९ लाख ५३ हजार छ भने १ सय ३१ वटा योजना रहेका छन् । कर्णाली अंचल सिंचाई विकास कार्यक्रमको कुल बजेट ९ करोड ९६ लाख २ हजार रहेको छ भने ७८ वटा आयोजना संख्या रहेका छन् ।

त्यस्तै मर्मत सम्भारका आयोजनाहरुको कुल बजेट ६४ लाख ५० हजार रहेको छ भने यसका जम्मा ४ वटा योजना रहेका छन् । सिंचाई संस्थागत विकास कार्यक्रम १० वटै जिल्लाका लागी कुल बजेट ३५ लाख ९६ हजार रहेको छ र समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्रका ४ वटा आयोजना रहेका छन् त्यसको लागि कुल बजेट ४ करोड ९२ लाख ४ हजार रहेको छ ।

भौतिक पुर्वाधार विकास मन्त्रालय जलस्रोत तथा सिंचाई विकास महाशाखाका इन्जिनियर नविन थापाका अनुसार सशर्त तर्फको बजेट सकिन लागेपनि प्रदेशको बजेटको काम भने भर्खरै शुरु भएको छ । कर्मचारी अभावका कारण बजेट समयमै नसकिएको थापाले जानकारी दिए ।

‘आगामी असार सम्ममा सक्नुपर्ने बजेट हो । तर कर्मचारी अभावका कारण आयोजना अगाडि बढ्न सकेका छैनन्, उनले भने । कर्णाली प्रदेशको कुल खेती योग्य जमिन दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर रहेको छ । यद्यपी हाल जम्मा २ लाख १६ हजार ८ सय ८० हेक्टर जमिनमा खेति गरिँदै आएको छ । प्रदेशका १० वटै जिल्लाहरुमा बाह्रै महिना सिंचित हुने जमिन भने ३८ हजार ३३ हेक्टर मात्रै रहेको छ । जसमध्ये आंशिक सिंचित हुने जमिन भनेको ३० हजार तिन सय दुई हेक्टर मात्रै रहेको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका खेतियोग्य जमिनमा प्रशस्त सिंचाईको अभाबका कारण उत्पादन घट्दै गएको पाईएको छ । प्रशस्त उत्पादन नहुंदा बाहिरबाट खाद्यबस्तु तथा तरकारीहरु आयात हुँदै आएको छ । कर्णाली प्रदेश सरकाले सिंचाई आयोजनाका लागी करिब ७० करोडको बजेट बिनियोजन गरेको छ । यि सिंचाई आयोजनाहरु समयमा निर्माण हुन सके कृषि योग्य जमिन सिंचित भइ उत्पादनमा बृद्धि हुनेछ । वर्षौ जसो खाद्यन्न अभाब झेलीरहेका कर्णाली प्रदेशका जनतालाई राहत हुनेछ ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु