गृहपृष्ठ विराटनगर भन्सारबाट ३१ अर्ब राजस्व संकलन

विराटनगर भन्सारबाट ३१ अर्ब राजस्व संकलन

jogbani naka newskarobar

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा कुल ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

दस महिनामा लक्ष्यको ७४÷६७ प्रतिशत मात्र प्रगति भएको छ । गत वर्ष सो अवधिमा २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्यमा २५ अर्ब ३४ करोड ५६ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत वर्षको तुलनामा चालु आवको सो अवधिमा ६ अर्ब ४१ करोड १५ लाख ९० हजार रुपपैयाँ बढी राजस्व संकलन भएको हो । राजस्व संकलनको स्थिति हेर्दा गत वर्ष साउन र भदौ महिनाबाहेक प्रत्येक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको देखिन्छ भने चालु आवमा साउनमा १००÷६८ प्रतिशत र असोजमा १३३÷५६ प्रतिशत प्रगति भए पनि अन्य महिना राजस्व संकलनमा गिरावट आएको देखिन्छ ।

लक्ष्यअनुसारको राजस्व संकलन गर्न कार्यालयलाई बाँकी दुई महिनामा कठिन यात्रा गर्नुपर्ने अवस्था देखिन्छ भने लक्ष्यमा पुग्न १० अर्ब ७७ करोड ४६ लाख ४४ हजार राजस्व उठाउनुपर्ने स्थिति छ । राजस्व संकलनको स्थिति हेर्दा अब कार्यालयले दुई महिनामा ६ अर्बभन्दा बढी उठाउन सक्ने अवस्था छैन ।

लक्ष्यअनुसारको प्रगति नभएको जिज्ञासामा कार्यालयका निमित्त प्रमुख मणिराम पौडैलले भने, ‘विभागको महत्वाकांक्षी लक्ष्य र यो नाकाबाट आयात एक्कासि घट्दा तालमेल नमिलको हो ।’ गत वर्षको तुलनामा सो अवधिमा २५ प्रतिशत राजस्व बढी संकलन भएको उनले बताए ।

चालु आवको वैशाखसम्ममा कुल २१ अर्ब २१ करोड १० लाख ७१ हजार मूल्य बराबरको सामान निकासी र १ खर्ब ३६ अर्ब ११ करोड ७१ लाख ७८ हजार मूल्य बराबरको सामान पैठारी भएको छ । गत वर्ष सो अवधिमा निकासी २० अर्ब १० करोड ७ लाख ६० बराबर र १ खर्ब १८ अर्ब १० करोड ५६ लाख ३३ हजार मूल्य बराबरको सामान पैठारी भएको थियो ।

विराटनगर भन्सारदेखि भारत तथा समुद्रपार निकासी वस्तुमा पिना, भेनियर सिट, वनस्पति उत्पादनहरु, चोकर भुस, खजुरको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, बोरा र झोला, अन्य रेशाको कपडा, जिआई वायर रहेका छन् । त्यस्तै भारत तथा समुद्रपार पैठारी वस्तुमा हाईस्पिड डिजेल, एमएस बिलेट, तयारी कपडा, पेट्रोल, पोलिथिन दाना, सिआर सिट, स्टिल वायर रड इन क्वायल र एमएससम्म, एलपी ग्यास, एचआर सिट र सिमेन्ट क्लिंकर छन् । रासस

प्रकाशित समय १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु