गृहपृष्ठ यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजस्व

यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजस्व

yarsha-newskarobar

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजस्व संकलन गरेको छ । अघिल्लोभन्दा यो वर्ष यार्सागुम्बा संकलनकर्ताबाट राजस्व बढी उठेको हो ।
जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भांका, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले बताए ।

निकुञ्ज क्षेत्रभित्र पर्ने धोमा रहेका विभिन्न यार्सागुम्बा पाटनमा हिँउ धेरै जमेकाले स्थानीय र यार्सा संकलकसँग सल्लाह गरेर मंगलबार मात्रै पाटन खुलाउने निर्णय गरिएको छ । निकुञ्ज क्षेत्रभित्रका यार्सापाटन औपचारिक रूपमा खुलेसँगै सर्वसाधारण मानिसहरू जोखिम मोलेर बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा जुटेका छन् ।

यार्सागुम्बाको खोजीका लागि पुगेका हजारौं सर्वसाधारण हिँउले सेताम्य पाटनमा हिँउ बिलाएको ठाउँमा यार्सा खोज्न थालेका हुन् । पाटन खुलेको पहिलो दिनमा जतिसक्दो धेरै यार्सागुम्बा टिप्ने अठोटका साथ एकले अर्कालाइ उछिन्दै अगाडि बढेको देखिने रुकुम आठबिसकोट नगरपालिका राडीकी भगवती शाहीले बताइन् ।

निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकांश यार्सापाटन खुले पनि सामुदायिक वन क्षेत्रभित्रका केही पाटन खुलेका छैनन् । यार्सापाटन खुलाउन आन्तरिक व्यवस्थापनमा समय लाग्ने भन्दै केही दिनभित्रै पाटन खुलाइने सामुदायिक वनहरूले जानकारी दिएका छन् । ‘यार्सा संकलनकर्ताबाट अहिलेसम्म १ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजस्व रकम उठेको छ,’ निकुञ्जका छत्र खड्काले जानकारी दिए । अघिल्लो वर्षभन्दा यो वर्ष २६ प्रतिशत राजस्व बढी उठेको उनले जानकारी दिए ।

१ करोड ९१ लाख रकम अघिल्लो वर्ष उठेको थियो । जाजरकोट, रुकुम, जुम्लाका स्थानीय यार्सागुम्बा संकलनका लागि बढी आएका छन् । अहिलेसम्म आठ हजारभन्दा बढी यार्सा संकलनकर्ता पाटन पुगिसकेको खड्काले जानकारी दिए । संकलनकर्ता अझ बढ्न सक्ने बताइएको छ ।

निकुञ्जले शुक्रबारबाट मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि ५ सय, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि २ हजार र जिल्लाबाहिरका सर्वसाधारणका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकेको छ । त्यसबाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कका रूपमा छुट्टै ५ सय रुपैयाँ लिन पाउने व्यवस्था गरिएको छ ।

निकुञ्जले छोडपुर्जी दस्तुरबापत ३० हजार रुपैयाँ तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महिना रहने निकुञ्जले जनाएको छ । निकुञ्जभित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको छ । सो क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुमलगायत १४ वटा स्थानबाट संकलन पुर्जी वितरण भइरहेको छ । रासस

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु