गृहपृष्ठ सत्तापक्ष भन्छ- बजेटले समृद्धि ल्याउँछ, विपक्षी भन्छ- भ्रमपूर्ण र प्रचारमुखीमात्रै

सत्तापक्ष भन्छ- बजेटले समृद्धि ल्याउँछ, विपक्षी भन्छ- भ्रमपूर्ण र प्रचारमुखीमात्रै

samsad-pratinidhi-sava-newskarobar फाइल तस्बिर ।

जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त सदनमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको सत्तापक्षका सांसदले बचाउ गरिरहँदा विपक्षी सांसदले खत्रो ढंगले विरोध गरेका छन् । बजेटमाथिको छलफलका क्रममा बुधबार सत्तारुढ नेकपाका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले नीति कार्यक्रममा आधारित भएर आएको बजेटले समृद्धिको आधार तयार पार्ने दाबी गरे । ‘राष्ट्रिय पुँजीको निर्माण गर्न बजेट केन्द्रित छ । जलविद्युत्, सिँचाइ, सडक जस्ता पूर्वाधारमा सन्तुलित ढंगले बजेट विनियोजन गरिएको छ । यसले समृद्धिको आधार खडा गर्ने विश्वास मैले लिएको छु,’ उनले भने ।

बजेटले गतिशिल अर्थतन्त्र निर्माणमा सहयोग गर्ने सांसद पौडेलको दाबी छ । हुलाकी, मध्यपहाडी पुष्पलाल मार्ग, उत्तर–दक्षिण जोड्ने सडक, विमानस्थल जस्ता पूर्वाधार निर्माणमा बजेट केन्द्रित रहेको उनले बताए । ‘शिक्षा स्वास्थ्य जस्ता विषयमा बजेटले ध्यान पु-याएको छ,’ उनले भने, ‘नागरिककाका आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले बजेट आएको छ । बजेट कोही भोकै पर्दैन, कोही भोकै मर्दैन भन्ने मान्यतामा आधारित छ ।’

सामाजिक सुरक्षाभत्तालाई औपचारिक रुपले बेठीक हो भन्न उनले प्रतिपक्षी कांग्रेसलाई चुनौती दिए । सरकार सामाजिक उत्तरदायित्वबाट पर जान नसक्ने उनको टिप्पणी छ । उद्यपि उनले बजेट कार्यान्वयन भने चुनौतीपूर्ण रहेको स्वीकार गरे ।

 

बजेट प्रचारमुखी : कांग्रेस सांसद

पूर्व अर्थमन्त्री एवं कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीले भने बजेट वितरणमुखी र परिणामहीन भएको भन्दै विरोध गरे । ‘नाराले मात्र लक्ष्य पूरा हुँदैन । हिमाल, पहाड, तराई जहाँ बस्ने नागरिकलाई पनि यसले उत्साह दिन सक्दैन । यो बजेट आफैंमा भ्रमपूर्ण, प्रचारमुखी छु,’ कार्कीले भने ।

उनले बजेटले समृद्धि नल्याउने जिकिर गरे । ‘समस्या समाधान गर्न ठू्लो अठोट चाहिन्छ । त्यो अठोट बजेटमा छैन । व्यापार घाटा न्यूनीकरण गर्ने योजना खोई ?’ कार्कीले प्रश्न गरे ।

राजपाका सांसद महिन्द्रराय यादवले पनि बजेट वितरणमुखी भएको तर्क गरे । बजेटले संघीयताको भावनालाई पनि अवमूल्यन गरेको उनको आरोप छ । ‘प्रदेश र स्थानीय तहको बजेट ३४ प्रतिशतबाट ३० मा झारिएको छ । यो संघीयताविरोधी कदम हो कि होइन ?’ उनको प्रश्न छ ।

प्रकाशित समय १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु