गृहपृष्ठ प्रदेश १ बजेट : प्रतिपक्षी भन्छ- चुनावी, व्यवसायी भन्छन्- उत्साहजनक

प्रदेश १ बजेट : प्रतिपक्षी भन्छ- चुनावी, व्यवसायी भन्छन्- उत्साहजनक

दुई–चार लाखका कार्यक्रम ल्याउने भए स्थानीय सरकार छँदै छन्, किन चाहियो प्रदेश सरकार ?

budget-pratikriya-newskarobar

प्रदेश १ को सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट चुनावी सरकाले ल्याउने बजेट जस्तो भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनतालाई भ्रममा पारी चुनाव जित्ने गरी चुनावी सरकारले ल्याउने बजेट जस्तो प्रदेश सरकारले बजेट ल्याएको आरोप लगाएका हुन् । उनले भने, ‘पहिले पहिलेका सरकारले चुनावको मुखमा जनतालाई खुसी पार्ने गरी, जनतालाई भ्रम छरी भोट बटुल्न बजेट ल्याउँथ्यो । अहिले ठ्याक्कै सोही पाराको बजेट प्रदेश सरकारले ल्याएको छ ।’

उनले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरे । प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले सानातिना कार्यक्रमका लागि पनि गाउँपालिकाले ल्याउने बजेट जस्तो भएको दाबी गरे । उनले भने, ‘३ लाख ४ लाखका कार्यक्रम पनि प्रदेश सरकारले ल्याएको छ । यो गाउँपालिकाहरुले ल्याउने बजेट हो । यति सानातिना कार्यक्रम त गाउँपालिकाले नै ल्याइहाल्छ नि प्रदेश सरकार किन चाहियो उसो भए ?’

उनले अधिकांश बजेटले समेटेका कार्यक्रम कार्यकर्तालाई बाँड्ने खर्च भएको आरोप लगाए । उनले भने, ‘यो वर्ष असार सकिन लाग्दासम्म पनि प्रदेश सरकारको बजेट खर्च २९ प्रतिशतमात्र छ । अब अर्को वर्षका लागि ल्याइएको बजेटमा केही वृद्धि होला, त्यो पनि कार्यकर्तालाई बाँडेर । उत्पादनमूलकमा खर्च हुन सक्छ भन्ने मलाई लाग्दैन । विकास हुने खर्च देखिँदैन ।’

त्यस्तै, अर्को प्रतिपक्षी दल समाजवादी पार्टी नेपालले पनि बजेट महत्वकांक्षी रहेको बताएको छ । सो पार्टीका प्रदेश १ संसदीय दलका नेता जयराम यादवले बजेटले सबै विषयवस्तु समेटेको भए पनि कार्यान्वयनमा शंका भएको बताए । उनले भने, ‘बजेट राम्रो छ । सफल कर्यान्वयन होस् हाम्रो शुभकामना छ तर कार्यान्वयनचाहिँ गर्न सक्नुपर्छ ।’ उनले तराई मधेसमा भन्दा भित्री मधेसदेखि माथिका लागि बजेट बढी ल्याइएको आरोप लगाए ।

बजेट कार्यान्वयन नभए राम्रो प्रवचनमात्र : उद्योगी व्यवसायी
प्रदेश १ का उद्योगी व्यवसायीले चालू आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले २९ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको बताउँदै ४२ अर्बको महत्वकांक्षी बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, ‘बजेटले सबै कुरालाई समेटेको छ । निजी क्षेत्रलाई पनि महत्व दिएको छ । कृषि उद्यमलाई प्रथामिकता दिएको छ । निजी क्षेत्रसँग साझेदारी, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थललाई सम्झेको छ । सुनसरीको अमडुवाललाई औद्योगिक ग्रामाका रुपमा विकास गर्न बजेट विनियोजन गरेको छ । विराटनगर रिङ रोड र एयरपोर्ट सम्झेको छ । कृषि पर्यटन प्राथमिकतामा छन् । पहाडी क्षेत्रका कृषि उत्पादन प्रथामिकतामा राखेको छ ।’

अध्यक्ष घिमिरेले प्रदेश सरकारका सबै कार्यक्रम राम्रा भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए । उनले भने, ‘सबै राम्रा हुँदाहुँदै पनि कार्यान्वयन पक्ष कमजोर छ । यो वर्ष अहिलेसम्म पनि २९ प्रतिशतमात्र खर्च भएको छ । कार्यान्वयन भएन भने राम्रो प्रवचनमात्र बन्छ । त्यो प्रवचनको अर्थ रहँदैन । हामी राम्रो कुरालाई समर्थन र सहयोग गर्न तयार छौँ । सरकारले कार्यान्वयन पक्ष चाहिँ दरविलो बनाउनुपर्छ । हामी बजेटबाट उत्साहित भए पनि कार्यान्वयनमा आउँछ भन्नेमा शंका छ । यो वर्षको जस्तै सधैंभरि भयो भने सरकारप्रति नै शंका हुन्छ । तर, यो वर्ष राम्रो होला भन्नेमा हामी आशावादी छौँ ।’

यस्तै मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष सुरेसमान श्रेष्ठले चालू आर्थिक वर्षका लागि ल्याइएको बजेट पनि कार्यान्वयमा फिलतो भएकाले आगामी वर्ष पनि त्यस्तै भयो भने राम्रो अर्थ नरहने बताए । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले पनि बजेट सकारात्मक भए पनि कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा जोड दिए ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु