गृहपृष्ठ सुरु भयो मेलम्ची आयोजनाको काम

सुरु भयो मेलम्ची आयोजनाको काम

melamchi sundarijal neskarobar

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुरु भएको छ । केही महिनादेखि ठप्प रहेको आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ ।

सुरुङभित्र गरिने भेन्टिलेसन साफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाउने आउट फलको काम पनि सुरु भएको छ । समितिले मेलम्ची आयोजनाको सुरुङ फिनिसिङ र हेड वर्क्स निर्माणको कार्य अघि बढाउन दुईवटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र आह्वानको समय सकिएकाले यसको मूल्यांकन भइरहेको छ ।

हेडवर्क्स (मुहानको संरचना) निर्माणको कार्यका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । प्रवक्ता शाक्यले भने, ‘मेलम्चीको काम सुरु भइसकेको छ । सुरुवाती चरणमा भेन्टिलेसन साफ्टका लागि ड्रिलिङको काम सुरु भएको छ । सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।’

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुईवटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स-साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । ‘पहिलो प्याकेजमा हेड वर्क्सअन्तर्गत ड्याम निर्माण र पुल निर्माणलगायत छन्,’ उनले भने, ‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्टलगायतका निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्यौलता समाप्त भएको छ ।’

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आह्वानमा बोलपत्र दर्ता गरेका कम्पनीहरुको मूल्यांकन गरी छिट्टै अन्य बाँकी काम सुचारु गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महिनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल सुचारु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

गत पुसमा इटालियन कम्पनी सिएमसी दि राभेनाले आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताए । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ ।

 

याङ्ग्री र लार्के आयोजना अघि बढाउने तयारी

यसैबीच, मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एसियाली विकास बैंक (एडीबी) याङ्ग्री र लार्केको सुरुङलगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि, एडीबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो ।

मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारीसमेत गरेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डीपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो ।

सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट १७–१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी काठमाडौं ल्याउन निर्माणको कार्य सुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमी छ ।

मेलम्चीको अम्बाथान (हेडवक्र्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङको माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।

प्रकाशित समय २२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु