गृहपृष्ठ लेबल लगाइएका वस्तुमात्र बिक्री गर : वाणिज्य विभाग
लेबल लगाइएका वस्तुमात्र बिक्री गर : वाणिज्य विभाग
वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सीमित नरही व्यापार व्यवसाय प्रवर्धनमा समेत प्रतिबद्ध रहेकाले अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले चेम्बर सचिवालय जमल काठमाडौंमा बिहीबार गरेको वाणिज्यसम्बन्धी समसामयिक विषयअन्तर्गतको साक्षात्कारमा उनले वाणिज्य व्यवसायमा सहजीकरणको सन्दर्भमा भन्सारका दरहरु बढेको र विश्व व्यापार संगठनको सिद्धान्तअनुसार मुलुकको बाध्यताले अधिकतम भन्सार दर लगाइएको कुरा व्यक्त गर्दै उपभोक्ता संरक्षण ऐनअनुसार लेबल लगाइएका वस्तु बिक्री गर्न सबै उद्यमी व्यवसायी सजग हुनुपर्ने बताए ।
बजार अुनगमन निरन्तर प्रक्रिया जारी रहेको भन्दै उनले खरिद बिल र बिक्री बिल दुवै जारी नगरे जरिवाना गर्ने कानुनी प्रावधान रहेको र यसमा मिडियालाई ल्याएर प्रचार गराउनेतर्फ विभाग नलागेकोमा विश्वस्त हुन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजार अनुगमनलाई कहाँ के कस्तो कमजोरी छ पहिल्याएर त्यसमै पुनर्विचार गरी नयाँ ढंगले सोच्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले उपभोक्ता संरक्षण ऐनमै आवश्यक संशोधन हुनुपर्ने, दण्ड सजायको प्रावधानमा पनि पुनः विचार गरी आर्थिक क्षतिमा आर्थिक नै दण्ड हुनुपर्ने र थुन छेक गर्न नहुनेतर्फ जोड दिए । उनले ठाउँ र वस्तुअनुसार मूल्य फरक फरक हुने र अधिकतम खुद्रा मूल्य तोक्ने हुँदा बजार अनुगमनमा पनि त्यही दृष्टिबाट गरिनुपर्ने बताए । बजार अनुगमन गर्दा डर त्रासको वातावरण हटाउन आवश्यक रहेको उनको भनाइ छ । उपभोक्ता नियमावली बनाउने क्रममा चेम्बरको समेत सहभागिता भए बढी फलदायी हुने र वशाखापट्टनममा नेपाली कन्सुलेट कार्यालय राख्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल युथ चेम्बरका सभापति दिपेश तुलाधरले बजार अनुगमन गर्दा सरकारले उपभोक्ता र व्यवसायको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा वाणिज्य तथा आपूर्ति तथा संरक्षण विभागका निर्देशकहरुका साथै चेम्बर अफ कमर्सका पदाधिकारी, वस्तुगत तथा आबद्ध संघका पदाधिकारी र चेम्बरका सदस्यको उपस्थिति थियो ।
प्रकाशित समय २२:१८ बजे

















