गृहपृष्ठ १० वर्ष नबनेको माडीपुल ११ महिनामै बन्यो

१० वर्ष नबनेको माडीपुल ११ महिनामै बन्यो

madi-pul-rolpa-newskarobar

शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ । पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस्रो पटक बोलपत्र आह्वान गरी अर्को निर्माण व्यवसायीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो । १७ महिनाभित्र निर्माण कार्य सक्ने गरी जिल्लास्थित एसियाटिक राज जेवी कन्सट्रक्सनले निर्माणको जिम्मा पाएको थियो ।

अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी भदौ १ गतेदेखि निर्माण थालिएको पुल ११ महिनामा सम्पन्न भएको छ । तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको उक्त पुलको सम्झौताअनुसारको सम्पूर्ण काम सम्पन्न भइसकेको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिए । ‘सम्झौताअनुसारको जिम्मेवारी पूरा गरी सरकारलाई बुझाइसकेको छु,’ उनले भने ।

सो पुलबाट केही दिनभित्रै गाडी आवतजावतका लागि छोडिनेछ । ०६५ सालमा सडक विभागमार्फत गरिएको बोलपत्रमा काठमाडौंमा रहेको लामा/एडी/धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएकोमा सुरुवाती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्य आलटाल गरेसँगै पुल निर्माण अनिश्चित बनेको थियो ।

निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका राजनीतिक दल र सामाजिक संघ संस्थाको टोली संघर्ष समिति बनाएर प्युठानस्थित सडक डिभिजन कार्यालयमा पुगेर पक्की पुल निर्माण कार्यलाई यथाशीघ्र सञ्चालन गर्न जोड दिएका थिए । दुई वटा पिलर ठड्याएर एक करोडभन्दा बढी रकम भुक्तानीपछि ठेकेदार दशौदीले निर्माणका क्रममा सामग्री हराएको भन्दै क्षतिपूर्तिकत्र माग गर्दै आलटाल गरेकाले पुल अलपत्र भएको थियो । स्थानीय राजनीतिक दल र नागरिक समाजको दबाबमा दोस्रो गरिएको बोलपत्रपछि पुल चाँडै निर्माण भएको हो ।

वैकल्पिक व्यवस्थाका लागि भन्दै सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या भइरहेको थियो । पुल निर्माणसँगै आवतजावत सहज हुने यातायात व्यवसायी रामचन्द्र थापाले बताए । पुल निर्माण स्थलमा रहेको कडा चट्टानका कारण यातायातका साधन सञ्चालनमा समेत निकै चुनौती हुँदै आएको थियो । उनीहरू अप्ठ्यारो भौगोलिक अवस्थितिका कारण सम्भावित दुर्घटनाको त्रासमा गाडी चलाउन बाध्य थिए । (रासस)

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु