गृहपृष्ठ स्वदेशी उत्पादनको बजार पहुँच बढाउन उद्योग मन्त्री यादवको आग्रह

स्वदेशी उत्पादनको बजार पहुँच बढाउन उद्योग मन्त्री यादवको आग्रह

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले स्वदेशी उत्पादनका वस्तुहरुको बजार पहुँच बढाउनुपर्ने बताएका छन् ।

उद्योग विभाग अन्तर्गत रहेका केन्द्रीय कारागार कारखानाद्वारा उत्पादित शुद्ध सुती कपडाको प्रदर्शनी तथा बिक्री कक्षको उद्घाटन एवं निरीक्षण गर्दै मन्त्री यादवले प्रचार प्रशार र पहुँच बढाउनुपर्ने बताएका हुन् । मन्त्री यादवले स्वदेशी उत्पादनको बजार विस्तारतर्फ विशेष रुपले ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिए ।

उद्घाटन एवं निरीक्षण पश्चात उद्योग विभागका कर्मचारीहरुलाई निर्देशन दिदै मन्त्री यादवले कार्यालयलाई मैत्रीपूर्ण बनाई जनताको विश्वास जितेर देश र जनताको निम्ति केही गर्न निर्देशन दिए । अहिले सुपथ मूल्यको पसलहरु सञ्चालनमा रहेको र अब सहुलियत मूल्य तर्फ ध्यान दिदैँ यसपालीको चाडपर्वहरुमा जनताले सहज तथा सहुलियत पाओस् भन्ने तर्फ विशेष रुपले पहल गर्न कर्मचारीलाई उनको आग्रह थियो ।

सरकारी अनुगमन फितलो भएका कारण कार्यान्वयन पक्षमा लापरवाही भइरहेको भन्दै मन्त्री यादवले प्रभावकारी बजार अनुगमन गर्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘बजारमा गडबड छ, सबैजना मिलेर काम गरौँ अन्य केही भए हामीलाई सूचना दिनुस् हामी त्यतातर्फ आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउछौँ ।’ उनले भने ।

केन्द्रीय कारागार कारखानामा कार्यरत श्रमिक तथा कैदीहरुको श्रमको उचित मूल्यांकन गर्न तथा बजारीकरणमा समेत ध्यान दिन मन्त्री यादवको आग्रह थियो । केन्द्रिय कारागार कारखानाद्वारा उत्पादित शुद्ध सुती कपडाको प्रदर्शनी तथा बिक्री कक्ष राजधानीको त्रिपुरेश्वरमा सञ्चालनमा आएको छ ।

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु