गृहपृष्ठ तिहारपछि छोइनसक्नु काँक्रो र प्याज, अधिकांश तरकारीको मूल्य सय रुपैयाँमाथि

तिहारपछि छोइनसक्नु काँक्रो र प्याज, अधिकांश तरकारीको मूल्य सय रुपैयाँमाथि

tarkari-newskarobar

मौसमी होस् या बेमौसमी, नेपाली बजारमा सधैं तरकारीको हाहाकार भइरहन्छ । उत्पादन पर्याप्त नहुँदा तरकारी तथा फलफूलको मूल्य सधैं अकासिने गरेको छ ।

जतिसुकै मूल्य उचालिए पनि भान्सामा पुर्‍याउनैपर्ने तरकारी किन्नुको विकल्प हुँदैन । चाडपर्वको समयमा तरकारीको मूल्य छोइनसक्ने गरी बढ्नुको मुख्य कारण उत्पादन कम र माग बढी हुनु नै हो । यसपटक भने तरकारीको मूल्य तिहारपछि उच्च बढेको छ ।

खासगरी मसलाको रुपमा प्रयोग हुने प्याज र सलादका रुपमा खाइने काँक्रोको मूल्य छोइनसक्नु छ । चाडपर्वका बेला सामान्य मूल्यमै बिक्री भइरहेको तरकारी छठपछि ह्वात्तै बढेको छ ।

उत्पादन कम हुने सिजन सुरु भएकाले तरकारीको मूल्य अत्यधिक बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन् । कात्तिक ८ गतेदेखि २२ गतेसम्मको दुई साताको अवधिमा सबैभन्दा बढी काँक्रोेको मूल्य बढेको छ । ‘यो अफ सिजन हुँदा मूल्य फेरबदल भएको हो,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यसपटक भारतमै तरकारी अभाव भएकाले नेपालमा समेत त्यसको प्रभाव परेको छ ।’

दुई साताको अवधिमा हाइब्रिड काँक्राको थोक मूल्य १२७.२७ प्रतिशतले बढेको छ । कात्तिक ८ गते ५५ रुपैयाँमा कारोबार भएको हाइब्रिड काँक्राको मूल्य आज (२२ गते) १२५ रुपैयाँ पुगेको छ । खुद्रा मूल्य अझै बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार समितिको तथ्यांकअनुसार कात्तिक ८ गते ५५ रुपैयाँ रहेको हाइब्रिड काँक्राको आजको खुद्रा मूल्य १२५ रुपैयाँ प्रतिकिलो छ ।

लोकल काँक्रोको पनि उच्च मूल्यवृद्धि भएको छ । दुई हप्ताको अवधिमा लोकल काँक्रो १०५ रुपैयाँबाट बढेर १७५ रुपैयाँ प्रतिकिलो पुगेको छ । प्रवक्ता श्रेष्ठका अनुसार सुकेको प्याजको मूल्य पनि निकै बढेको छ । दुई साताको अवधिमा सुकेको प्याज ८३ रुपैयाँबाट प्रतिकिलो १२६ रुपैयाँ पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २२ गतेका लागि प्याजको खुद्रा मूल्य १४५ रुपैयाँ तोके पनि बजारमा १६० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ ।

त्यस्तै लोकल बन्दा र सिमी १४ दिनको अवधिमा ४८ रुपैयाँबाट बढेर ६८ रुपैयाँ पुगेको छ ।

कुनै कुनै तरकारीको मूल्य भने ओरालो लागेको तथ्यांकले देखाउँछ । दुई साताअघि प्रतिकिलो २४५ रुपैयाँ थोक मूल्य रहेको जिरीको साग अहिले ११५ रुपैयाँमा झरेको छ । त्यस्तै गान्टे मुला प्रतिकिलो १०५ रुपैयाँबाट ६५ रुपैयाँमा झरेको छ भने ब्रोकाउली २२५ रुपैयाँबाट ११५ रुपैयाँमा झरेको प्रवक्ता श्रेष्ठले बताए ।

नेपाली सुन्तलाको मूल्य पनि निकै तल झरेको छ । दुई हप्ताअघि २३५ रुपैयाँ प्रतिकिलोले किनबेच भइरहेको सुन्तला अहिले १०५ रुपैयाँमा झरेको छ । युवाशक्ति विदेसिएका कारण नेपालमै पर्याप्त तरकारीखेती नहुँदा भारतीय बजारको प्रभाव नेपाली बजारमा पर्ने गरेको छ ।

अधिकांश तरकारीको मूल्य सय रुपैयाँमाथि
उत्पादन नभएपछि लामो समयदेखि तरकारीको उच्च मूल्य कायम छ । बजारमा अधिकांश तरकारी खुद्रा मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा धेरै छ । शुक्रबार गोलभेंडा र लोकल काउलीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँ छ । त्यस्तै बोडी १२५ र मटरकोसा १५५ रुपैयाँ किलो छ ।

त्यस्तै परवल १०५, भिण्डी १२५, पालुंगो साग ११५, चम्सुरको साग १०५, मेथीको साथ ११५, हरियो प्याज १६५, ब्रोकाउली १३५, जिरीको साग ११५ र हरियो लसुन २१० रुपैयाँ प्रतिकिलो रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अनुगमन नहुँदा उपभोक्ताबाट व्यापारीले तोकिएभन्दा बढी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ ।

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु