गृहपृष्ठ दक्षिण एसियाको वृद्धिदर खुम्चने

दक्षिण एसियाको वृद्धिदर खुम्चने

भारतीय मन्दीका असर नेपालमा पनि पर्ने

Economy_NewsKarobar

एसियाली विकास बैंक (एडीबी)ले यस वर्ष एसियाको वृृद्धिदर खुम्चने नयाँ प्रक्षपेण जारी गरेको छ । बैंकले विश्व अर्थतन्त्रमै असरले एसियाली अर्थतन्त्रको वृद्धिदरमा पनि असर पर्ने भन्दै यसअघि एसियन डेभलमेन्ट आउटलूक अपडेट (एडीओ)–२०१९ मा गरेको प्रक्षेपण समेत घटाएको छ ।

बैंकका अनुसार सन् २०१९ र २०२० दुवैमा एसियाली वृद्धिदरको प्रक्षेपण यसअघिको ५ दशमलव ७ प्रतिशतबाट घटाएर ५ दशमलव २ प्रतिशतमा झर्ने जनाएको छ ।

बैंकले यसअघिको प्रक्षेपणमा सन् २०१९ मा दक्षिण एसियाको वृद्धिदर ६ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरेकोमा त्यसलाई घटाइ ५ दशमलव १ प्रतिशतमा झारेको छ भने सन् २०२० को प्रक्षेपित लक्ष्य ६ दशमलव १ प्रतिशतमा झारेको छ । जुन यसअघि ६ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण थियो ।

दक्षिण एसियाको ठूलो अर्थतन्त्र भारतमा देखिएको मन्दीका असरले क्षेत्रीय अर्थतन्त्रमा परेको हो । एडीओका विशेष संस्करण (सप्लिमेन्ट)अनुसार सन् २०१९ मा भारतको वृद्धिदर ५ दशमलव १ प्रतिशतमात्रै रहने छ भने सन् २०२० मा गरिने नीतिगत सुधारहरूबाट केही उक्लेर ६ दशमलव ५ प्रतिशत रहनेछ ।

यसअघिको प्रक्षेपणमा सन् २०१९मा भारतको वृद्धिदर ६ दशमलव ५ प्रतिशत र सन् २०२० मा ७ दशमलव २ प्रतिशत रहने उल्लेख थियो । भारतमा गैरवित्तीय क्षेत्रमा देखिएको लगानी संकुचनका कारण त्यहाँको अर्थतन्त्र मन्दीमा परेको हो ।

सप्लिमेन्टमा नेपालको आर्थिक वृद्धिदरबारे उल्लेख छैन । यद्यपि, नेपालको बाह्य व्यापार ६५ प्रतिशतभन्दा अधिक भारतसँग निर्भर रहेको र अन्य आर्थिक–सामाजिक समानताका कारण भारतीय अर्थतन्त्रमा आएको मन्दीको असर नेपालमा पर्नेछ ।

एडीबीका अनुसार चालू वर्षको पहिलो २ महिनामा नेपालमा रेमिट्यान्स घट्दो गतिमा रहेको भए पनि राजनीतिक स्थिरता र वैदेशिक लगानीका लागि कानुनी सुधारका कारण प्रत्यक्ष वैदेशिक लगानी ६१ प्रतिशतले बढेको छ । यस्तै, वस्तु निर्यात २३ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु