गृहपृष्ठ ‘राजस्व कार्यालयमा सेवाग्राहीलाई सास्ती, वर्षौंदेखि समस्या जस्ताको तस्तै’

‘राजस्व कार्यालयमा सेवाग्राहीलाई सास्ती, वर्षौंदेखि समस्या जस्ताको तस्तै’

आन्तरिक राजस्व कार्यालय, कैलालीमा सेवाग्राहीका गुनासोमा कमी आएको छैन । सेती अञ्चलकै एकमात्र यस राजस्व संकलन केन्द्रमा राजस्व तिर्नका लागि दिनभर लाइन बस्नुपर्ने मुख्य समस्या रहेको छ ।

सोमबार धनगढीमा टान्सपरेन्सी इन्टरनेसनलले आयोजना गरेको ‘भ्रष्टार सहन्न, सदाचार बिर्सन्न’ विषयक कार्यक्रमका सहभागीहरुले राजस्व कार्यालयको सेवा प्रवाहमा खासै सुधार नभएको गुनासो गरे ।

सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी, अछाम, बझाङ र बाजुराबाट राजस्व बुझाउन धनगढी नै धाउनुपर्ने बाध्यता छ । दुई/तीन दिन लगाएर धाउनुपर्दा गाडी भाडा र खान बस्नमा राजस्वभन्दा दोब्बर/तेब्बर खर्च हुने सेवाग्राहीहरुले समस्या सुनाएका छन् । घण्टौँ लाइन बसेर राजस्व बुझाउनुपर्ने, फाँटहरु पत्ता लगाउनै अन्यौल हुने, कर्मचारीबाट रुखो व्यवहार हुने लगायतका गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

भ्रष्टाचारविरुद्ध अभियानरत संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले पनि आन्तरिक राजस्व कार्यालय कैलालीमा आउने सेवाग्राहीका गुनासोहरु संकलन गरेको छ । करिब ३ घण्टामा ४५ जनाको गुनासो संकलन गरेको संस्थाले जनाएको छ ।

कर्मचारीले काममा ढिलासुस्ती गर्ने, एउटै कामका लागि दुई/तीन दिन धाउनुपर्ने गुनासो आएको संस्थाका अध्यक्ष उमिद बागचन्दले बताए । उनका अनुसार आन्तरिक राजस्व कार्यालयले सेवाग्राहीको सहजताका लागि हेल्प डेस्क स्थापना गर्नुपर्ने, कर्मचारी पदपूर्ति गरी डेस्क बढाउनु पर्ने लगायतका सुझाव सेवाग्राहीबाट आएको छ । सेवाग्राहीका गुनासो र सुझाव कार्यालय प्रमुखसम्म पु¥याएको उनले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालयमा विगतको समस्या जस्ताको तस्तै रहेको सेवाग्राहीहरुको गुनासो छ । कर्मचारीको ढिलासुस्ती कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको लक्षिराम आचार्यले बताए । व्यावसायीहरुको दैनिक कामकाजसँग प्रत्यक्ष सरोकार राख्ने राजस्व कार्यालयको व्यवस्थापकीय पक्षमा सुधार हुनुपर्ने उनले जोड दिए । यसका साथै सामान्य मजदूरबाट समेत कर असुल्ने नीति खारेज हुनुपर्ने उनले धारणा राखे ।

प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले विगतभन्दा कार्यालयको सेवा प्रवाहमा धेरै सुधार आएको बताए । आफू आएको डेढ महिनामात्रै भएको जानकारी दिँदै श्रेष्ठले छोटो समयमै पनि कार्यालयको व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार भएको बताए । ‘सेवाग्राहीका गुनासोलाई सकेसम्म सम्बोधन गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘कर्मचारीबाट नियतवश नभई प्रमाण वा प्रक्रिया नपुगेर ढिलाई भएको हुनसक्छ ।’

कार्यालयबाट हुने विषयमा कुनै कसर बाँकी नराखी काम गरिरहेको र विभागबाट गराउनुपर्ने कुरामा समेत पहल गरेको उनले जानकारी दिए । कर्मचारी कम भएकाले थप डेस्क सञ्चालन तथा हेल्प डेस्क स्थापना गर्न नसकिएको उनले बताए । यसका लागि विभागमा पत्राचार गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु