गृहपृष्ठ ‘टिकटक भिडियो बनाउनुस्, ५० हजार जित्नुहोस्’
‘टिकटक भिडियो बनाउनुस्, ५० हजार जित्नुहोस्’
कुनैबेला खोलाका किनारमा फुटबल खेल्नेहरूले राष्ट्रिय प्रतियोगितामा अवसरका पाएको खबर सुन्दा मन उत्साहित हुन्थ्यो । पछि क्रिकेटका दिन आए । बाँसका भाटाका विकेट, भैँसीको किलो ठोक्ने मुङ्ग्राको ब्याट र झुम्राको बल बनाएर क्रिकेट खेल्नेहरू पनि अहिले राष्ट्रिय‑अन्तर्राष्ट्रिय प्रतियोगितामा जमिरहेका छन् ।
समय हरेक कुराको आउने रहेछ । पहिला चर्चित सोसल मिडिया एप टिकटकमा भिडियो बनाएर पैसा कमाइन्छ भनेर कसले सोचेको थियो होला ! तर, त्यस्तै हुने भयो । लकडाउनका कारण तनावमा रहेकाहरूलाई लक्षित गर्दै स्टेट एट मिडियाले डिजिटल पेमेन्ट सेवा डिजीपेको प्रायोजनमा ‘घरमै बस्नुस्, प्रतिभा देखानुस्, पुरस्कार जित्नुस्, तनाव हटाउनुस्’ भन्ने नारासहित ‘डिजीपे‑लकडाउन्स गट ट्यालेन्ट’ आयोजना गरेपछि यो सम्भव भएको छ । लकडाउनलाई सदुपयोग गर्दै घरमै बसेर टिकटक बनाएर फलोअर बढाएकाहरूले प्रतियोगितामा उत्कृष्ट बन्दै ५० हजार जित्नसक्ने भएका छन् ।
कोरोनाभाइरस महामारीका कारण सरकारले लगाएको लकडाउनका बेला भिडियो बनाएर टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा अपलोड गर्ने क्रम बढेपछि स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा ‘डिजीपे‑लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भाग लिन नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला (कुकिङ), टिकटक, कविता आदिको भिडियो बनाएर पठाउनुपर्नेछ । हालसम्म जसले धेरै टिकटक भिडियो या अरु भिडियो बनाएर सामाजिक सञ्जालमा लोकप्रियता कमाएको छ, उही व्यक्तिका लागि प्रतियोगिता सहज हुनेछ ।
भिडियोमाथि सामाजिक सञ्जालमा हुने लाइक र सेयरका आधारमा प्रतियोगिताका विजयी छनोट हुनेछन् । स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष शालिनी नेपालका अनुसार लामो समयको लकडाउनका कारण देखिएको मानसिक बेचैनी टिकटकमार्फत बाहिरिएको पाइएपछि प्रतियोगिताको रुप दिइएको बताइन् ।
त्यस्तै प्रतियोगिताका मुख्य प्रायोजक एवं सहआयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डेले सामाजिक सञ्जाललाई यसरी पनि सदुपयोग गर्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न लागिएको बताउँछन् । ‘डिजीपे‑लकडाउन्स गट ट्यालेन्ट एउटा युनिक प्रतियोगिता हो, जसमा कुनै निर्णायक हुँदैनन्, सामाजिक सञ्जालहरूमा अत्यधिक सेयर, लाइक र कमेन्ट भएकै आधारमा विजेता छनोट गरिनेछ,’ उनले भने ।
प्रतियोगितामा भाग लिनेमध्ये प्रत्येक पटक १०‑१० जना गरी चार राउन्डमा ४० जना र अत्यधिक लाइक भिडियोका आधारमा थप १० जना मोस्ट पपुलर गरी ५० जनालाई पहिलो चरणमा छनोट गरिने आयोजकले जनाएको छ । आयोजकले ती ५० जनाको डिजीपे खातामा तत्कालै एक‑एक हजार रुपैयाँ नगद जम्मा गरिदिनेछ । साथै, उनीहरूले विभिन्न प्रायोजकहरु जस्तैः बेननेभिज आइसक्रिमका तर्फबाट गिफ्ट ह्याम्पर, नेटम्याक्सका तर्फबाट तीन महिनासम्म निःशुल्क इन्टरनेट, टिटाइम र कफी ब्रेकले ५०० रुपैयाँबराबरको गिफ्ट ह्याम्पर, एलओडी डिस्कोमा लकडाउन खुलेपछि जोडीलाई निःशुल्क प्रवेशका साथै स्न्क्याक्स र ड्रिंक्सलगायतका पुरस्कार पनि पाउनेछन् ।
प्रतियोगितामा भाग लिन पहिलो चरणको भिडियो जेठ ३१ गतेभित्र पठाउनुपर्नेछ । असार १ गतेपछि पहिलो चरणको भोटिङ र दोस्रो चरणको भिडियो आवेदन लिन सुरु गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अफिसियल अनलाइन न्युज पार्टनर न्युज कारोबार हो ।
प्रकाशित समय १६:१६ बजे

















