गृहपृष्ठ सुदूरपश्चिमको बजेट ३३ अर्ब ३८ करोड : स्वास्थ्य, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिमको बजेट ३३ अर्ब ३८ करोड : स्वास्थ्य, कृषि र पूर्वाधार प्राथमिकतामा

संघीय सरकारसँगको समन्वयमा कालापानी क्षेत्रका लागि ५ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सोमबार प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख विनियोजन गरिएको छ । गत वर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो । प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

निर्वाचन क्षेत्रलाई ९६ करोड

प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले सडक निर्माण आयोजनाका लागि करिब पौने पाँच अर्ब बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै मन्त्री बोहराले आगामी आर्थिक वर्षमा ५ सय २८ किलोमिटर सडक निमार्ण गर्न ४ अर्ब ७२ करोड बजेट विनियोजन गरेको बताए ।

सिँचाइ योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरेको छ । मन्त्री बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिए । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन छ ।

कालापानी क्षेत्रका लागि ५ करोड

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भारतले नेपाली भूमि अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र रहेको दार्चुलाको सीमावर्ती व्यास गाउँपालिकामा विकास निर्माणका कामहरु गर्नका लागि ५ करोड रकम विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै मन्त्री बोहराले संघीय सरकार र स्थानीय तहको समन्वयमा उक्त क्षेत्रमा सडक, पुल खानेपानी लगायतका भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यजस्ता सार्वजनिक सेवा उपलब्ध गराउनका लागि सो बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु