गृहपृष्ठ सुदूरपश्चिमका दुई ठूला भन्सारको राजस्व संकलन घट्यो
सुदूरपश्चिमका दुई ठूला भन्सारको राजस्व संकलन घट्यो
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस महामारीको प्रभाव राजस्व संकलनमा समेत परेको छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार तथा कञ्चनपुरको गड्डाचौकीबाट हुने आयात-निर्यात घटेपछि लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन ।
कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यको झण्डै ५० प्रतिशत राजस्व कम उठाएको छ भने कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा करिब २७ प्रतिशत कम राजस्व संकलन गरेको छ । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६/७७ मा त्रिनगर नाकाबाट १७ अर्ब ६२ करोड बराबरको सामान आयात भएको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा १९ प्रतिशत अथात् चार अर्ब ८ करोडले कम हो ।
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले आर्थिक वर्ष २०७५/७६ मा त्रिनगर भन्सार नाकाबाट २१ अर्ब ७० करोडको सामान आयात भएकोमा भर्खरै सकिएको आर्थिक वर्ष २०७६/७७ मा १७ अर्ब ६२ करोडको मात्र आयात भएको जानकारी दिए ।
अर्यालले आयात घटेसँगै लक्ष्यअनुसार राजस्वसमेत संकलन नभएको बताए । गत वर्ष वार्षिक ६ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको भए पनि ४ अर्ब ९२ करोड मात्रै संकलन गर्न सकिएको उनले बताए । जुन लक्ष्यको झण्डै २७ प्रतिशत अथात् एक अर्ब १८ करोडले कम हो । आर्थिक वर्ष २०७५/७६ मा भने कैलाली भन्सार कार्यालयले पाँच अर्ब १९ करोड राजस्व संकलन गरेको थियो ।
उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड- १९) को रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण आयात निर्यातमा कमी आएको बताए । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि अत्यावश्यक बाहेकका सामानको आयात निर्यात रोकेका कारण लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व संकलनमा कमी आएको जनाएको छ । सो कार्यालयलाई वार्षिक ४८ करोड ६८ लाख राजश्व संकलनको लक्ष्य दिइएको भए पनि बन्दाबन्दी लगायतका कारणले राजस्वमा कमी आएको हो । कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माले गत आर्थिक वर्षमा २५ करोड ८४ लाख राजस्व संकलन भएको बताए ।
केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजश्व बढे पनि ६ महिनायता कोरोनाले राजस्व प्रभावित बनेको छ । ‘बन्दाबन्दीले यहाँका नाकाहरु अझै प्रभावित भएको छ,’ निमित्त कार्यालय प्रमुख शर्माले भने, ‘अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन ।’
गड्डाचौकी नाकाबाट ठुला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी हुने गरेको भन्सार कार्यालयको भनाइ छ । ‘वनबासा पुलका कारण यहाँ आयात निर्यातका लागि ठूला सवारीसाधान चल्दैनन्,’ शर्माले भने, ‘बन्दाबन्दी खुकुलो भए पनि नाका अझै सामान्य अवस्थामा आइसकेको छैन ।’ उनले हाल गड्डाचौकी नाका दैनिक तीन घण्टा चलेको बताए । त्यसैगरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ३४ करोड २० लाख राजस्व उठाउने लक्ष्य लिएको छ ।
प्रकाशित समय १८:५४ बजे

















