गृहपृष्ठ हुम्लामा साढे १५ करोडको सहुलियत चामल बिक्री

हुम्लामा साढे १५ करोडको सहुलियत चामल बिक्री

गत आर्थिक वर्ष २०७६/७७ मा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाले साढे १५ करोड रुपैयाँको सहुलियत चामल बिक्री गरेको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोटस्थित शाखा कार्यालयका साथै जिल्लाभरका डिपो र बिक्री केन्द्रहरुबाट २४ हजार ९२१ क्विन्टल चामल बिक्री भएको कार्यालय प्रमुख रामबहादुर विष्टले जानकारी दिएका हुन् । उनका अनुसार करिब २५ हजार क्विन्टल चामल १५ करोड ६७ लाख ३४ हजार रुपैयाँबराबरमा बिक्री गरिएको छ ।

शाखा कार्यालय सिमकोटबाट जिरा मसिना चामल प्रतिकिलो ७० रुपैयाँ, जापानिज चामल ६५ रुपैयाँ र सोना मन्सुली चामल ६२ रुपैयाँका दरले बिक्री हुने गरेको छ । त्यसैगरी, अरुवा मध्यम चामल ६१ रुपैयाँ, अरुवा मोटा ५७ रुपैयाँ, गोरखनाथ चामल प्रतिकिलो ६२ र उसिना चामल प्रतिकिलो ३५ रुपैयाँमा बिक्री गरिएको शाखा प्रमुख बिष्टले जानकारी दिए ।

हुम्लामा नेपालगन्ज र सुर्खेतबाट हवाई मार्ग भएर चामल ल्याउने गरिएको छ । त्यस्तै नेपालका विभिन्न सहरका केन्द्रहरुबाट र चिनियाँ तिब्बती खासा ताक्लाकोट हुँदै स्थल मार्गबाट पनि चामल ल्याउने गरिन्छ । हुम्लाका चारवटा बिक्री केन्द्र, दुईवटा डिपो र एउटा शाखा कार्यालयमा चामल ढुवानी हुन्छ ।

हवाई मार्ग हुँदै सिमकोट शाखासम्म नेपालगन्जबाट प्रतिकिलो ११४ रुपैयाँ ८० पैसा र सुर्खेतबाट प्रतिकिलो ११२ रुपैयाँ ८० पैसामा निजी कम्पनीका जहाजले चामल ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ । स्थल मार्गबाट काठमाडा हुँदै नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रसम्म प्रतिक्विन्टल ४ हजार ६३३ रुपैयाँमा चामल पुग्ने गरेको छ ।

मुगुदेखि हुम्लाको सर्केगाड डिपोसम्म प्रतिक्विन्टल ३ हजार रुपैयाँमा चामल पुग्छ । यसैगरी, धनगढीदेखि सिमकोट शाखासम्म ७ हजार ३ सय रुपैयाँ प्रतिक्विन्टलका दरले ढुवानी हुने गरेको छ । धनगढीदेखि स्थल मार्ग श्रीनगर डिपो कार्यालयसम्म २ हजार ७३४ रुपैयाँ प्रतिक्विन्टल ढुवानी रहेको छ । सुर्खेत हुँदै सिमकोट शाखासम्म स्थल मार्गबाट चामल पुर्‍याउन ७ हजार २ सय रुपैयाँ लाग्ने गरेको छ ।

स्थल मार्ग हुँदै सुर्खेतदेखि सर्केगाड डिपोसम्म प्रतिक्विन्टल ३ हजार ४ सय र सुर्खेतदेखि श्रीनगर डिपोसम्म २ हजार १ सय ढुवानी भाडा लाग्छ । सुर्खेतदेखि खार्पुनाथ गाउँपालिकाको याँचु बिक्री केन्द्रसम्म ६ हजार ३९० रुपैयाँ ढुवानी लाग्छ ।

यसैगरी, सुर्खेतदेखि चङ्खेली गाउँपालिकाको देउली बिक्री केन्द्रसम्म ठेकदारले प्रतिक्विन्टल २ हजार ९ सयमा ढुवानी गर्ने गरेका छन् । सुर्खेतदेखि सिमकोट शाखासम्म स्थल मार्गबाट ढुवानी गर्दा ७ हजार २ सय रुपैयाँ पर्ने गरेको पाइएको छ ।

चामल पर्याप्त पुगेपछि गत वर्ष हुम्लीले चामल अभाव झेल्नु परेन । विभिन्न कारण चामल ढुवानीमा समस्या हुँदा विगतमा पटक‑पटक हुम्लीले खाद्यसंकट सामना गर्दै आएका थिए ।

प्रकाशित समय १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु