गृहपृष्ठ अर्थतन्त्रको अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउने सूचीमा तल झर्दै नेपाल

अर्थतन्त्रको अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउने सूचीमा तल झर्दै नेपाल

Remittance_NewsKarobar

नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा सर्वाधिक रेमिट्यान्स भित्र्याउने देशहरूको सूचीमा सातौं स्थानमा खस्किएको छ । विश्व बैंकले हालै अद्यावधिक गरेको विश्वव्यापी रेमिट्यान्स प्रवाहको तथ्यांकअनुसार जीडीपीका अनुपातमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने सूचीमा नेपाल सातौँ स्थानमा झरेको हो ।

सन् २०१५/१५ मा जीडीपीको ३१ प्रतिशतबराबर रेमिट्यान्स भित्र्याएको नेपालमा यस वर्ष (सन् २०२०)मा जीडीपीको २२.६ प्रतिशतमात्रै रेमिट्यान्स भित्रने बैंकले जनाएको छ । अर्थतन्त्रको कुल आकार गणना गरिने जीडीपीको अनुपातमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने देशमध्ये कुनै बेला दोस्रो स्थानमा पुगिसकेको नेपाल क्रमसः तल झर्न थालेको हो । गत वर्षका प्रतिवेदनअनुसार चाैथो स्थानमा थियो ।

बैंकले गत अप्रिलमा यस वर्ष (सन् २०२० मा) कोभिड-१९ महामारीका कारण नेपाल भित्रने रेमिट्यान्स १४ प्रतिशतले घट्ने अनुमान गरेकोमा अक्टोबरमा यसमा संशोधन गरी १२ प्रतिशतले रेमिट्यान्स घट्ने नयाँ अनुमान सार्वजनिक गरिएको छ । सन् २०२१ मा पनि यो प्रवृत्ति कायमै रहने जोखिम बैंकले औंल्याएको छ ।

बैंकका अनुसार सन् २०२० मा नेपालमा ७ अर्ब ३९ करोड २० लाख अमेरिकी डलर (करिब ८ अर्ब ७२ करोड रूपैयाँ) बराबरमात्र रेमिट्यान्स भित्रने छ । सन् २०१९ मा ८ अर्ब २५ करोड अमेरिकी डलर (करिब ९ अर्ब ७३ करोड रूपैयाँ) बराबर रेमिट्यान्स भित्रिएको बैंकले उल्लेख गरेको छ, यो सन् २०१८ का तुलनामा करिब ०.६ प्रतिशत कम हो ।

नेपाल राष्ट्र बैंकले नेपाली आर्थिक वर्षका हिसाबले रेमिट्यान्सका तथ्यांक राख्ने भएकाले केही फरक देखिन्छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा ७ अर्ब ५३ करोड ३२ लाख अमेरिकी डलर ( ८ खर्ब ७५ अर्ब रूपैयाँ) रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरका हिसाबले अघिल्लो वर्षका तुलनामा गत आवमा १.६ प्रतिशतले र नेपाली मुद्रामा ०.६ प्रतिशतले रेमिट्यान्स घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी रेमिट्यान्स १४ प्रतिशतले घट्ने

बैंकले सन् २०२१ मा पनि कोभिड-१९का कारण विश्वव्यापी रेमिट्यान्स २१ प्रतिशतले घट्ने जनाएको छ । बैंका अनुसार दक्षिण एसियामा सन् २०२० मा ३.६ प्रतिशतले गिरावट आउने रेमिट्यान्स प्रवाह सन् २०२१ मा अझ बढी १०.९ प्रतिशतले गिरावट आउने बैंकको अद्यावधिक ‘माइग्रेसन एन्ड रेमिट्यान्स ब्रिफ’ मा उल्लेख छ ।

दक्षिण एसियाली मुलुकहरूमध्ये भारतमा भित्रने रेमिट्यान्स सन् २०२० मा अघिल्लो वर्षमा तुलनामा ९ प्रतिशतले गिरावट आइ ७६ अर्ब अमेरिकी डलरमा खुम्चने प्रक्षेपण गरिएको छ भने पाकिस्तान र बंगलादेशमा भने कोभिड-१९ ले रेमिट्यान्स प्रवाहमा उल्टै सकारात्मक असर पारी बढ्ने बैंकले जनाएको छ । बैंकले पाकिस्तानमा भित्रने रेमिट्यान्स ९ प्रतिशतले बढी २४ अर्ब अमेरिकी डलर पुग्ने र बंगलादेशमा ८ प्रतिशतले बढी २० अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।

बैंकले यात्रा प्रतिबन्धका कारण व्यक्तिहरूले बोकेर ल्याउने पैसा (ह्यान्डक्यारी)को ओसारपोसारमा उत्पन्न कठिनाइका कारण रेमिट्यान्सको अनौपचारिकबाट औपचारिक च्यानलमा आएको र पाकिस्तानले लागू गरेको कर प्रोत्साहनका कार्यक्रमले ती देशमा रेमिट्यान्स बढेको विश्व बैंकको भनाइ छ ।

नेपालमा पनि चालू आर्थिक वर्ष २०७७/७८ का पहिलो २ महिनामा ८ प्रतिशतले रेमिट्यान्स बढ्नुमा हुन्डी, ह्यान्डकारीजस्ता अनौपचारपक माध्यम औपचारिक च्यानलमा रेमिट्यान्स आउन थालेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु