गृहपृष्ठ नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण कार्य सुरु

नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण कार्य सुरु

Nepalgunj_NewsKarobar

नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को निर्माण थालिएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र नेपालीले बिहीबार अनलाइन समारोहबाट शुभारम्भ कार्यक्रमको संयुक्त रुपमा अवलोकन गरेका छन् ।

भन्सार तथा अध्यागमन सुविधालाई एउटै छातामुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न भारतीय सहयोगमा भारत–नेपाल सीमाको दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण भइरहेको छ ।

यो संरचना नेपालगञ्ज उपमहानगरपालिकाको जानकी गाउँपालिका–१ र १६ मा नेपाल सरकारले पहिचान गरेको ६१.५ हेक्टर जग्गामा निर्माण गरिनेछ । रुपैडिहामा भारतीय भूमिपत्तन प्राधिकरणले यस्तै किसिमको संरचना भारततर्फ निर्माण गरिरहेको छ ।

गत मे महिनाबाट निर्माण कार्य सुरु गरिएको सो परियोजनाको १० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास विभागले नेपालगञ्जमा निर्माण हुनलागेको एकीकृत जाँच चौकीको निर्माण कार्यमा सघाउ पुर्‍याउने जनाइएको छ ।

दुवै देशका प्रधानमन्त्रीले सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरीमा वीरगन्ज र विराटनगरमा निर्मित एकीकृत जाँच चौकीको क्रमसः महिनामा संयुक्त रुपमा उद्घाटन गरेका थिए भने भारतीय वाणिज्य तथा उद्योगमन्त्री गोयलले भारतको आर्थिक सहयोगमा नेपालको भैरहवामा चौथो एकीकृत जाँच चौकीको निर्माण गर्ने घोषणा गरेका छन् ।

हाल कार्यान्वयनको मोडालिटी र परियोजनाको कार्यान्वयन गर्ने निकायको विषय भने विचाराधीन अवस्थामा छ ।

एकीकृत जाँच चौकीको निर्माण सकिएपछि त्यहाँ मालवाहक सवारी साधन तथा सार्वजनिक सवारी साधनको सहज आवात जावतका लागि वेयर हाउजिङ, रेफ्रिजरेटेड कार्गो सुविधासहितका आयात–निर्यातका ह्यान्डलिङ सुविधाहरु उपलब्ध हुने जनाइएको छ ।

यस्तै, औषधीय, बिरुवा तथा जनावरका क्वारेन्टिन एरिया, सवारी चालक तथा यात्रुहरुका लागि सुविधा, सीसीटिभी र अन्य सुरक्षा उपकरण, सातै दिन चौबीसै घन्टा बिजुली ब्याकअप सुविधा, फोहोर पानी प्रशोधन सुविधा लगायतका सुविधाहरु हुनेछन् ।

कार्गो ह्याान्डलिङलाई व्यवस्थित ढंगले अघि बढाउन यी सुविधालाई अघि सारिएकोे उल्लेख गर्दै भारतीय दूतावासले यी सुविधाको प्रयोगले आगन्तुकले बेहोर्दै आएको असुविधामा कमी आउनुका साथै समयको बचत पनि हुने दाबी गरेको छ ।  यसले अन्तरदेशीय व्यापार र वाणिज्यमा लाग्ने कारोबार लागत पनि घट्ने बताइएको छ ।

प्रकाशित समय १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु