गृहपृष्ठ चुनौतीको पहाडमुनि नेउवा महासंघको नयाँ नेतृत्व

चुनौतीको पहाडमुनि नेउवा महासंघको नयाँ नेतृत्व

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले लामो समयपछि नयाँ नेतृत्व पाएको छ ।महासंघको विधानअनुसार गत चैतमा नै हुनुपर्ने निर्वाचन कोरोनाका कारणले धकेलिएपछि महासंघको नेतृत्वले बल्ल पूर्णता पाएको हो ।

शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यकारिणी निर्वाचित समिति बनेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने पहिलो व्यावसियक नेतृत्वकर्ता भएका छन्, गोल्छा । उनी भवानी राणाको कार्यकालमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

तत्कालीन अध्यक्ष सुरज वैद्यका कार्यकालमा (२०६७/६८)देखि महासंघमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको हो, त्यसअघि महासंघमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष भन्ने चलन थियो । महासंघको पहिलो वरिष्ठ उपाध्यक्षमा भाष्करराज राजकर्णिकार चुनिएका थिए ।

राजकर्णिकार सबै उद्यमी-व्यवसायीको निर्वाचनबाट नभइ महासंघको पदाधिकारीबीचको मनोनयनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए । कुमुद दुगड र राजकर्णिकारबीच पहिलो वरिष्ठ उपाध्यक्षका लागि प्रतिष्पर्धा भएको थियो ।

महासंघभित्र अध्यक्षदेखि वरिष्ठ उपाध्यक्षसम्मका पदहरूमा अस्वस्थ प्रतिष्पर्धा बढ्न थालेपछि दुई कार्यकालअघि पशुपति मुरारका अध्यक्ष हुँदा महासंघको विधान संशोधन गरी अध्यक्ष पदमा निर्वाचन नहुने वरिष्ठ उपाध्यक्ष नै स्वतः आगामी कार्यकालका लागि अध्यक्ष हुने प्रावधान राखिएको हो ।

यो प्रावधान लागू गरिएपछिको पहिलो अध्यक्ष बनेका गोल्छामाथि लामो समयदेखि महासंघमा कायम रहँदै आएको गुटबन्दी र आन्तरिक राजनीति अन्त्य गर्नुपर्ने मुख्य चुनौती छ । २०५० सालमा आफ्ना बुवा स्व. हुलासचन्द्र गोल्छाले छाडेको विरासतलाई कसरी अगाडि बढाउने भन्ने नवनिर्वाचित अध्यक्ष गोल्छामाथि थपिएको दायित्व पनि छ ।

स्व. हुलासचन्द्र गोल्छाले २०५० सालमा अध्यक्ष पदमा मनोनयन गरे पनि स्वास्थ्य स्थिति खराब भइ अमेरिका जानु परेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए । सो कार्यकालमा विनोद चौधरी अध्यक्ष भए । महासंघको गुटबन्दीको राजनीतिमा अध्यक्ष गोल्छाका दाजु (काकाका छोरा) स्व. दिवाकर गोल्छा पनि परेका थिए । तत्कालीन समयमा प्रथम उपाध्यक्ष भइसकेका स्व. दिवाकर गोल्छा महासंघमा गुटबन्दीको राजनीति चरम भएपछि २०६४ साल अध्यक्ष हुनुपर्नेमा महासंघबाट बाहिरिएका थिए ।

यस पटकको निर्वाचनका क्रममा अध्यक्ष गोल्छा नै वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको पक्षमा खुलेर लागेपछि सो पदमा चन्द्र ढकालको विजयपछि महासंघमा सन्तुलित ढंगले अगाडि बढ्नेछन् भन्ने जिज्ञासा बढ्न थालेको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले भने निर्वाचनका क्रममा देखिएको गुट-समूहभन्दा अलग रहेर काम गर्ने बताइसकेका छन् । ढकाल गोल्छापछि स्वतः अध्यक्ष हुने भएकाले महासंघको एकता बलियो बनाउन र भूमिका सशक्त बनाउन दुवैको भूमिका बराबरी रहनेछ ।

महामारीकै बीचमा भएको चुनावी प्रक्रियाले नयाँ नेतृत्वलाई आउँदा दिनहरू त्यति सहज छैन । विश्व अर्थतन्त्रले शताब्दी यताकै सबैभन्दा ठूलो आर्थिक महामन्दी झेलिरहेको बेलामा उत्पादनमूलक, व्यापार, पर्यटन लगायतका निजी संस्थालाई चलायमान बनाउनुपर्ने चुनौती नेतृत्वसामु उभिएको छ ।

विशेषतः यो संकटमा परेका जिल्ला तथा नगर क्षेत्रका साना तथा मझौला उद्यमी व्यवसायीले महासंघले आफ्नो पक्षमा लबिङ बलियो बनाउला भन्ने अपेक्षा गरिरहेका छन् । महासंघले जहिल्यै आफ्नो हितमा काम नगरेको आरोप लगाइरहेका सानो लगानीका व्यवसायीले ६/७ महिनासम्म व्यापार व्यवसाय ठप्प पारेर पनि सरकारले तोकेको करको दायरामा आउनु परेको कठिनाइ, मासिक रूपमा भाडा बुझाउनुपर्ने बाध्यताले डिप्रेसनमा पर्नुपर्ने अवस्था आएको गुनासो गर्दै आएका छन् ।

ठूला व्यवसायीले पनि व्यवसायमा अर्बौंको घाटा बेहोरिरहेको, कर्मचारीलाई विदाइ गर्नुपरेको, सरकारले तोकेअनुसार करको दायरामा आउनुपरेको बेलामा पनि महासंघले सशक्त भूमिका नखेलेको गुनासो गर्ने गरेका छन्। अहिले व्यवसायीहरू नयाँ नेतृत्वले आफ्नो पक्षमा आवाज उठाउलान् भन्ने अपेक्षामा छन् । व्यवसायीका ती मागलाई महासंघले प्राथमिकताका साथमा उठाउनुपर्ने चुनाैती पनि अर्को छ ।

अहिले विधानअनुसार एसोसिएट, वस्तुगत, जिल्ला तथा नगर र राष्ट्रिय तर्फबाट गरी जम्मा ७८ जना निर्वाचित भइसकेका छन् ।एसोसिएटसबाट १९, जिल्ला तथा नगरबाट १८, वस्तुगतबाट १४, राष्ट्रियबाट एक, संस्थापक सदस्यबाट एक र सबै प्रदेशबाट ७ जना निर्वाचित भएका छन् ।

कुन उम्मेदवारले कति मत पाए ?

वरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी मैदानमा होमिएका निवर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलको कडा प्रतिस्पर्धा देखिएको थियो । अन्त्यमा ढकालले प्रधानलाई फराकिलो मतान्तरले पराजित गरे । ३० प्रतिशत मतभार हुने एसोसिएटमा प्रधानलाई ढकालले १४७ मतले पराजित गरे ।

एसोसिएटमा ३७५ मत पाए भने ढकालले ५२२ मत ल्याए । त्यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा २० मतको अन्तरले ढकालले प्रधानलाइ पछाडि पारे । वस्तुगतमा प्रधानलाई ३९ मत प्राप्त भयो भने ढकालले ५९ मत पाए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा भने कडा प्रतिस्पर्धाका बीच प्रधानले ढकाललाई एक मतले पछि पारे । ढकालले ५२ मत पाए भने प्रधानले ५३ मत प्राप्त गरेका थिए । यसरी समग्रमा हेर्दा महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकालले किशोर प्रधानलाई १६६ मतान्तरले पछि पार्दै निर्वाचित भए । ढकालले सबै समूह गरी कुल ६३३ मत पाए भने किशोर प्रधानले ४६७ मत ल्याएर पराजित भए । ढकाल विजयीसँगै नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने निश्चित भएको हो ।

महासंघको जिल्ला नगरतर्फ र वस्तुगततर्फको उपाध्यक्षमा भने प्रधान प्यानलका दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । जिल्ला नगरतर्फका दिनेश श्रेष्ठ र ढकाल प्यानलका गुणनिधि तिवारीले प्रतिस्पर्धा गरेका थिए । जसमा १०५ मतमध्ये श्रेष्ठले ५८ मत ल्याएर विजयी भए भने तिवारीले ४७ मत ल्याएर पराजित भए ।

वस्तुगत तर्फको उपाध्यक्षमा प्रधान प्यानलका अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई २५ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । १०१ मत खसेको वस्तुगतमा अञ्जनले ६२ मत ल्याए भने उमेशलालले ३७ मत ल्याए । एसोसिएटतर्फको उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाई निर्वाचित भएका छन् । संघाई प्रधान प्यानलका सौरभ ज्योतीलाई २१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । संघाईले ४५५ मत ल्याए भने सौरभ ज्योतीले ४३४ मत ल्याए ।

केन्द्रीय सदस्यमा जिल्ला नगर समूहबाट १८ जनाको सिट छ । जसमा ढकाल प्यानलभन्दा प्रधान प्यानलका दोब्बर सदस्य निर्वाचित भएका छन् ।  ढकालका ६ जना र प्रधानका १२ जना सदस्य पदमा निर्वाचित भए । निवार्चित हुनेमा राजन श्रेष्ठ ७९ मत, तारानाथ घिमिरेले ७२, शोभाकान्त पौडेलले ७०, कमल श्रेष्ठले ६९, गजेन्द्र भगतले ६८, चक्र बहादुर अधिकारीले ६७, अरुण सुमार्गीले ६६, देवकुमार श्रेष्ठले ६५, रामेश्वर मानन्धरले ६३, कमनबहादुर खड्काले ६२, सुरकृष्ण वैद्यले ६१, कुबिरकुमार श्रेष्ठले ५८, डिबी बस्नेतले ५८, उमेश डालमियाले ५३, किशोरकुमार आचार्यले ५२, महेन्द्रकुमार श्रेष्ठले ५४, अमृत भट्टचनले ५१ मत र गोपाल कौडियाले ५५ मत ल्याएर निर्वाचित भएका हुन् ।

वस्तुगत समूहमा नरेशलाल श्रेष्ठले ७२, सुमितकुमार केडियाले ६६, आकाश अधिकारीले ४९, प्रकाश सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, सुबोधकुमार गुप्ताले ५५, हेमराज ढकालले ५५, अरनिको राजभण्डारीले ६४, गोबिन्द ढुंगेलले५०, मनिषलाल प्रधानले ६०, मीनमान श्रेष्ठले ६७, विष्णुप्रसाद गैरेले ५१, सन्दिपकुमार अग्रवालले ५१ र सुकुन्तलाल हिराचनले ५५ मत प्राप्त ल्याएर निर्वाचित भएका हुन् ।

एसोसिएटतर्फ अम्बिकाप्रसाद पौडेल ८०२, अविनाश बोहोरा ४७६, आनन्दकुमार अग्रवाल ४९९, कृष्णलाल महर्जन ४६५, गोपाल खनाल ७५१, ज्योत्सना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य ७४६, रञ्जितराज आचार्य ४५९, राजशेकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, शाहिल अग्रवाल ७३३, शैलेन्द्र गुरागाई ६६५, सुशील थापा ४७३, सञ्जय गिरी ५०७, हेमन्त गोल्छा ५०९ मत ल्याएर निर्वाचित भए । विराट थापा र मंगेशलाल श्रेष्ठले बराबरी ४९७ मत ल्याएका छन् । बराबरी मत ल्याएका दुई जनामध्ये गोला प्रथाबाट एक जना छान्ने निर्वाचन समितिले जनाएको छ ।

प्रदेशबाट पनि केन्द्रीय सदस्यमा ७ जना निर्वाचित भएका छन् । प्रदेश २ बाट १२ मत ल्याएर विजयकुमार शाह, गण्डकीबाट ९ मत ल्याएर बाबुराम गिरी, लुम्बिनीबाट १० मत ल्याएर जसमेर मियाँ, कर्णालीबाट ७ मत ल्याएर लालिमान बुढा र सुदूरपश्चिमबाट पुष्पराज कुँवरले ८ मत ल्याएर निर्वाचित भएका हुन् । प्रदेश १ बाट भने यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् ।

महासंघमा गुटको राजनीति अन्त्य कहिले ?

महासंघको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारको एउटै साझा आवाज थियो,  महासंघमा गुटको राजनीति अन्त्य गर्ने । उम्मेदवार भएकै बेलामा देश दौडाहामा गएको बेलामा विगतका निर्वाचनमा भएको गुटको राजनीतिलाई छिट्टै अन्त्य गर्ने चन्द्र ढकालले बाचा गरेका थिए । त्यस्तै अर्का उम्मेदवार किशोर प्रधानले पनि गुटको राजनीति अन्त्यका लागि नै आफ्नो उम्मेदवारी भएको दाबी गरिरहेका थिए । बोलेको कुरा पूरा गर्ने हो भने महासंघमा गुटको राजनीतिको अन्त्य गर्नु ढकालकै काँधमा आएको छ ।

महासंघको अध्यक्ष पदमा विनोद चौधरी र पद्म ज्योतिबीच भएको निर्वाचनपछि सुरु भएको गुटबन्दीले अहिले झनै माैलाएको छ । तत्कालीन अध्यक्ष रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठका पालामा केही मत्थर भए पनि राजेन्द्र खेतान, दिवाकर गोल्छा, भाष्करराज कर्णिकारलगायत प्रथम उपाध्यक्ष भएकाहरूलाई अध्यक्ष पदमा रोक्नका लागि थालिएको गुटबन्दीले महासंघमा समानान्तर संस्थाहरुसमेत सुरू गरिएका थिए । अहिले पनि खण्डीकरण भएका संस्थाहरू सञ्चालनमै छन् ।

निजी क्षेत्रका लागि महासंघको अबको जिम्मेवारी

अहिले देशभरि सञ्चालनमा रहेका करिब साढे ९ लाख साना ठूला उद्योग व्यवसायहरूमध्ये झण्डै ६० प्रतिशत आर्थिक मन्दीका कारण संकटमा परेका छन् । एकातिर करिब १० हजार उद्योग-व्यवसायहरूमध्ये एक तिहाइ अहिले चरम संकटमा परेको महासंघकै तथ्यांकले देखाउँछ भने अर्कातिर देशको अर्थतन्त्रकै मेरुदण्ड मानिएका एमएसएमईहरूकै क्षेत्रमा कार्यरत झन्डै ३५ लाखको हाराहारीमा मजदुरहरूले रोजगारी गुमाएर गरिबीमा धकेलिनु परेको छ ।

यसलाई उकास्न आजैबाट सम्बन्धित सबै निकायसँग आवश्यक परामर्श लिनुपर्छ र महासंघ साना तथा ठूला व्यवसायीको अभिभावक भएको आभाष दिलाउँदै जानुपर्छ । कोरोना महामारीले अर्थतन्त्र संकटमा परेको बेला बन्द भएका उद्योग व्यवसायहरू सञ्चालनमा ल्याउन तुरून्तै सरकारसँग वार्ता गरेर आवश्यक कदम चाल्नुपर्छ । निजी क्षेत्र खण्डीकृत भएर होइन एकीकृत रूपमा अघि बढेर जाने हो भने नेपाल उद्योग वाणिज्य महासंघको भविष्य सुनिश्चित हुन्छ ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु