गृहपृष्ठ आर्थिक गतिविधि बहाल हुने क्रममा

आर्थिक गतिविधि बहाल हुने क्रममा

उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानी बढ्यो

Bank office_NewsKarobar

लामो समयसम्म लकडाउन र कोभिड-१९ महामारीका कारण सुस्त बनेको नेपालको अर्थतन्त्र क्रमिक रूपमा बहाल हुन थालेपछि बैंकिङ क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी बढाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजको तीन महिनामा मात्र बैंकिङ क्षेत्रबाट उत्पादनमूलक क्षेत्रमा जाने कर्जा (डिमान्ड वा अन्य चालू पुँजी कर्जा) ६७ अर्ब १२ करोड ३८ लाख रूपैयाँ लगानी भएको छ ।

साउनसम्म उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको विस्तार न्यून रहेकोमा भदौदेखि यसले लय समातेको हो । साउनमा डिमान्ड र अन्य चालू पुँजी कर्जामा जम्मा ३ अर्ब ४७ करोड रूपैयाँमात्रै लगानी भएकोमा भदौमा १६ अर्ब १ करोड र असोजमा  ४९ अर्ब ८ करोड रूपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

‘चालू पुँजी कर्जा बढ्दै जानु र पुँजीगत वस्तुको आयात पनि बढ्दै जानुले अर्थतन्त्र क्रमिक रूपमा बहाल हुँदै गएको संकेत गर्छ,’ नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले भने ।

राष्ट्र बैंकका अनुसार औद्योगिक आपूर्तिका वस्तु र पुँजीगत वस्तुको आयात असोजदेखि बढ्न थालेको हो । असोज महिनामा बढेको आयात भने कात्तिकमा थोरैले खस्केको छ ।

साउनमा जम्मा ८५ अर्ब ८० करोड रूपैयाँबराबरको वस्तु आयात भएकोमा भदौमा थोरैले वृद्धि भइ ९३ अर्ब रूपैयाँबराबरको वस्तु आयात भएको थियो भने असोजमा १ खर्ब १३ अर्ब रूपैयाँबराबरको आयात भएको थियो । कात्तिक भने आयात केही घटेर १ खर्ब १० अर्ब रूपैयाँमा झरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

कोभिड-१९ कै बीचमा पनि जनजीवन सामान्य हुने प्रक्रियासँगै आयातमा पनि सुधार हुन थालेको हो । विगत दुई महिनायता गत वर्षकै मासिक हाराहारीमा वस्तु आयात हुन थालेको राष्ट्र बैंकको तुलनात्मक अध्ययनले देखाएको छ ।

चालू पुँजी कर्जाबाहेक बैंकहरूले आवधिक कर्जा (टर्मलोन)मा पनि लगानी बढाएका छन् । साउनदेखि असोजका त्रैमासिक अवधिमा बैंक तथा वित्तीय संस्थाले आवधिक कर्जामा २८ अर्ब २ करोड रूपैयाँ लगानी गरेका छन् । यसमध्ये औद्योगिक क्षेत्रमा मात्रै १० अर्ब १६ करोड रूपैयाँ लगानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

‘सरकारले पुँजीगत खर्चमा वृद्धिसँगै ठूला पूर्वाधार परियोजनाहरूमा लगानी बढाउँदै लैजाने हो भने अर्थतन्त्र चलायमान हुँदै जाने छ र यसले अग्र तथा पृष्ठ सम्बन्ध स्थापना गरी आर्थिक क्रियाकलाप बहाली गर्नछ,’  डा. भट्टले भने ।

सेयर धितोमा झन्डै ९ अर्ब

बैंक तथा वित्तीय क्षेत्रले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सेयर धितोमा दिइने कर्जा (मार्जिन कर्जा) ८ अर्ब ९९ करोड ३० लाख रूपैयाँ लगानी गरेका छन् ।

आर्थिक क्रियाकलाप बहाल हुन थालेपछि निजी आवासीयसँगै रियल इस्टेटमा हुने लगानीमा पनि सुधार आएको छ । साउनदेखि असोजसम्म डेढ करोड रूपैयाँसम्मको आवासीय कर्जामा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ९२ करोड रूपैयाँ लगानी गरेकोमा रियल इस्टेटमा १ अर्ब १६ करोड रूपैयाँ लगानी गरेका छन् । भदौमा रियल इस्टेटमा जाने कर्जा साउनका तुलनामा घटेकोमा असोजमा ४६ करोड रूपैयाँ लगानी भएको छ ।

प्रकाशित समय १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु