गृहपृष्ठ अनिश्चयको भूमरीमा रुद्राक्ष बजार, चिनियाँको भर पर्दा ‘अभर’मा स्थानीय व्यापारी

अनिश्चयको भूमरीमा रुद्राक्ष बजार, चिनियाँको भर पर्दा ‘अभर’मा स्थानीय व्यापारी

२०७०/७१ सालताकाको कुरा हो । सुन्दै अचम्म लाग्छ कि, रुद्राक्ष व्यापारी एकैजनाले एक सिजनमा १० करोड रुपैयाँभन्दा बढी कमाए । केहीले काठमाडौंमा भव्य महल खरिद गरे । व्यापारीले नाफा आर्जन गरेको रकमको अंक भनिए/सुनिएजस्तो दुरुस्त त नहोला । तर, त्यसबेला रुद्राक्ष व्यापारीहरुले मनग्गे कमाएको भने सही हो ।

त्यसअघि मुखदार (बढी मुख भएका) दानाको मात्र उच्च मूल्यमा कारोबार हुने गरेको थियो । तर, जब चिनियाँ व्यापारीहरु भित्रिए, उनीहरुले आकार र गोलाइ मिलेका रुद्राक्षका पाँचमुखी दानाहरु समेत राम्रो मूल्यमा किन्न थाले । जबकि, त्योभन्दा पहिले त्यस्ता दानाहरु रुद्राक्षको बोटमुनि ‘बगर’ बन्थे । यसरी आकार र गोलाइको आधारमा पाँचमुखी दानाले बढाबढको भाउ पाउन थालेपछि भने यसको कारोबार उत्कर्षमा पुगेको हो । तर स्थिति एकनास रहेन । चिनियाँ व्यापारीहरु बिस्तारै ‘चुजी’ हुन थाले । रोज्जा दानामात्र किन्न थालेपछि रुद्राक्षको कारोबार बिस्तारै खस्कियो । खस्किएको मात्रै त ठिकै थियो । अझ यो वर्ष त झन् कोरोना महामारीका कारण रुद्राक्ष बजार अनिश्चयको भूमरीमा धकेलियो ।

कोरोना महामारीका कारण चिनियाँ व्यापारीहरु नआउँदा यस वर्ष रुद्राक्षमा लगानी भएको अर्बौं रुपैयाँ जोखिममा परेको छ । चिनियाँ व्यापारीहरु आउने आशामा करोडौं लगानी गरेका स्थानीय व्यापारीहरु चिन्तित बनेका छन् । यस वर्ष समयमै कारोबार सुरु हुन नसक्दा व्यापारले गति लिन नसकेको रुद्राक्ष व्यवसायी संघका केन्द्रीय सदस्य तथा संखुवासभाका व्यापारी देवराज पुरी बताउँछन् ।

‘खास गरेर यस वर्ष व्यापारमा प्रतिस्पर्धा नै भएन । पहिले पो सयौं चिनियाँहरु हुन्थे । मूल्यमा बढाबढ हुन्थ्यो । दानाको भाउ दिनदिनै बढ्थ्यो,’ उनले कारोबार सुस्ताउनुको कारण बताए । पुरीका अनुसार अघिल्लो वर्षहरुमा ६ देखि ७ सय जना चिनियाँ व्यापारी आउने गरेकामा अहिले २० जना जतिमात्र चिनियाँ व्यापारीहरु संखुवासभा क्षेत्रमा छन् । रुद्राक्ष व्यवसायी संघका अनुसार नेपालका करिब ४० जिल्लामा रुद्राक्ष उत्पादन हुने गर्छ । संखुवासभाको सदरमुकाम खाँदबारी बजारलाई काठमाडौंबाहिर रुद्राक्ष कारोबार हुने मुख्य केन्द्रको रुपमा लिइन्छ ।

चाहेजस्तो आकार बनाउन बोटमै दानामा लगाइएको क्लिप ।

गुणस्तरीय दाना नफलेका कारण पनि यस वर्ष रुद्राक्ष कारोबारमा मन्दी छाउनुको अर्को कारण भएको व्यापारीहरुको भनाइ छ । अत्यधिक वर्षा भएका कारण बोटमा राम्रोसँग फल नअडिएको व्यापारी पुरीको भनाइ छ । तर, औषधि लगाइएका र फल चेप्ट्याइएका दानाहरु गुणस्तरीय नै भए पनि चिनियाँ व्यापारीहरु नआएकै कारण व्यापार धरासयी बनेको उनी बताउँछन् । भन्छन्, ‘औषधि छर्केको र क्लिप लगाएको दाना राम्रै छन् । तर किनिदिने मान्छेहरु नै नभइदिँदा समस्या भएको हो ।’

मुखदार दानाको कारोबारमा भने कुनै समस्या नरहेको व्यापारी कुल बराइलीले बताए । बढी मुख भएका दानाहरु भारततर्फ निकासी हुने भएकाले पनि त्यस्ता दानाको माग र व्यापार साविकजस्तै रहेको उनको भनाइ छ । ‘खालि पाँचमुखी दानाको व्यापारमा समस्या हो । यस्ता दानाहरुको बजार नै चीन हो । चिनियाँले मात्रै किन्छन् । उनीहरु नै नआएपछि त उपाय नै रहेन,’ उनले समस्या सुनाए ।

देशै ठुलो ‘रुद्राक्ष कारोबार क्षेत्र’ भनिने भोजपुर र संखुवासभा क्षेत्रमा डेढ करोड रुपैयाँसम्म लगानी गरेका व्यापारीहरु करिब दुई सय हाराहारी रहेको बताइन्छ । उनीहरुले रुद्राक्षको रुख ठेक्का र हेरालु राख्ने, औषधि लगाउने लगायतमा लाखौं खर्चिसकेका छन् । तर, व्यापारले उचाइ नलिँदा लगानी डुब्ने खतरा बढेको उनीहरु बताउँछन् । ‘रुद्राक्षको रुखधनीसँग लिखित गरेर बैना दिइसकिएको हुन्छ । हेर्ने मान्छे राखिएको हुन्छ । पाकेपछि मान्छे लगाएर सफाइ गर्नुपर्‍यो । चरण-चरणमा खर्च हुन्छ,’ उनले भने, ‘दाना तयार भइसकेपछि कारोबारको यो हालत छ । अब त्यतिका लगानी कसरी उठाउने ?’

यस वर्ष दश प्रतिशतमात्र कारोबार भएको रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मनोज चापागाईंले बताए । अर्बौ डुब्ने जोखिम बढेपछि व्यावसायीहरुमा चिन्ता बढेको उनको भनाइ छ । ‘यसपटक व्यापारीहरु नै आएनन् । किन्ने मान्छे नआएपछि कहाँ लैजाने ? समस्या यो हो,’ उनले भने । उनका अनुसार नेपालको रुद्राक्ष बजार अनिश्चय र धरासयी रहेको कुरा यस वर्ष थप स्पष्ट भएको उनी बताउँछन् । भन्छन्, ‘हामी चिनियाँको भरमा थियौं । चिनियाँ नआइदिँदा व्यापार चौपट भयो । अभरमा परियो ।’

बिक्रीका लागि तयारी दाना ।

महासंघले अब रुद्राक्ष निर्यातको विकल्पबारे पनि तयारी गरिरहेको उनले बताए । ‘राम्रा दानाहरु नै बिक्न छाडेपछि हामीले उपाय खोजिरहेका छौं । दानाको झोला, माला बनाएर बेच्ने हाम्रो योजना छ । यसो भयो भने केही राहत होला भन्ने सोचेका छौं,’ उनले भने । अर्बौको कारोबार हुने रुद्राक्ष व्यापारप्रति सरकार गम्भीर नभएको अध्यक्ष चापागाईंले गुनासो गरे । ‘लाखौंले रोजगारी पाउने, आर्थिक चहलपहलमा उल्लेख्य योगदान दिने यस क्षेत्रको विषयमा सरकारले कुनै चासो दिएन । यो अत्यन्तै दुख र चिन्ताको विषय हो । रुद्राक्ष निर्यातको विकल्पबारे सोच्न अब ढिलाइ नहोस्,’ उनले सरकारसमक्ष आग्रह गरे । उनका अनुसार महासंघ आफैले पनि निर्यातका विकल्पका विषयमा छलफल र तयारी गरिरहेको छ ।

आधिकारिक तथ्यांक नभए पनि खाँदबारी क्षेत्रमा गत वर्ष ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको व्यापारीहरुको अनुमान छ । भोजपुरसँगको सीमानजिक भएका कारण खाँदबारीमा रुद्राक्षको कारोबार उल्लेख्य हुने गर्दछ । यसबाट सयौं जनाले रोजगारी पाउने गरेका छन् । चिनियाँ भाषामा दख्खल भएकाहरुले चिनियाँ व्यापारीहरुका लागि दोभाषेको रुपमा सहयोगी भएर पनि मनग्गे कमाउँछन् । स्थानीय होटलहरु खचाखच हुन्छन् । यति मात्र नभएर रुद्राक्षको कारोबार बढ्दा स्थानीयस्तरमा विभिन्न व्यवसाय र आर्थिक गतिविधिसमेत बढ्ने गर्दछ ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु